प्रधानमन्त्रीको जवाफपछि कांग्रेस सांसदले गरे विरोध



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा उठेर विरोध गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदका प्रश्नहरूको जवाफ दिए लगत्तै कांग्रेसका सांसदहरू आफ्नो सिटबाट उठेर विरोध जनाएका हुन्।

सभामुख कृष्णबहादुर महराले कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणलाई बोल्ने समय दिएका थिए। खाँणले तनहुँको जिपि कोइराला स्वास्सप्रस्वास उपचार केन्द्र र बाँकेमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई सरकारले संघीय सरकार मातहत नराखेकोमा आपत्ति जनाएका थिए।

नेपालमा गणतन्त्र स्थापना गर्न अहम् भूमिका खेलेका पूर्वप्रधानमन्त्री एवं तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको नाममा खुलेको अस्पताल संघीय सरकार अन्तर्गत हुनुपर्ने माग गरेका हुन्।

त्यसैगरी खाँणले बाँकेमा संविधान निर्माणका क्रममा मुलुकको प्रधानमन्त्री रहेका सुशील कोइरालाको नामको क्यान्सर अस्पताल पनि संघीय सरकार मातहत हुनुपर्ने र तत्काल त्यो निर्णय गर्न सरकारसँग माग गरेका थिए।

कांग्रेसले यसअघि पनि यो विषयलाई संसद र पत्रकार सम्मेलन गरेर विरोध गरिसकेको छ। तर, सरकारले भने यसविषयमा कुनै पनि निर्णय नभएको प्रष्टिकरण दिएका थिए। प्रधानमन्त्री ओलीले संसदमा पनि उक्त निर्णय नभएको बताएका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्