काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवडिभिजन वन कार्यालय भजनी कैलालीका फरेष्टर हरिशचन्द्र कुमारलाई १० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । अख्तियारको कञ्चनपुरबाट खटिएको एक टोलीले उनलाई बिहीबार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
“फरेष्टर हरिशचन्द्र कुमारलाई सेवाग्राहीसँग १० हजार रुपैयाँ घुसबापतको रकम लिईसकेको अवस्थामा निजकै कार्यलयबाट २०७५ माघ ३ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ,” अख्तियारद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।
फरेष्टर कुमारले सामुदायिक वनबाट उपभोक्ताहरुलाई झिझा दाउरा उपलब्ध गराउन सहज वातावरण मिलाईदिने भनेर घुस मागेको उजुरी परेपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो । यसैक्रममा बिहीबार कञ्चनपुरबाट गएको अख्तियारको टोलीले उनलाई घुस लिईसकेको अवस्थामा पक्राउ गरेको थियो । उनीमाथि अहिले थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।