‘मौलाउँदैगरेको मायाँमा रोमाञ्चक अनुभूति नहुँदै विछोड भोग्नुपर्यो’- सबैले एक पटक पढ्नै पर्ने कथा



त्यतिबेला म गुल्मीको एरिया सेक्रेटरीका रुपमा कार्यरत थिएँ । एकदिन पार्टीको कामकै शिलशिलामा पश्चिम गुल्मीको अर्खावाङ्ग जानुपर्ने भयो । त्यहाँ बिशेष क्षेत्रवाट स्कुलिङ विभागमा कार्यरत ६ जना कमरेडहरु आउनुभएको रहेछ । रोल्पा, रुकुम, सल्यान, प्युठान, दाङ, अर्घाखाँची, कपिलबस्तु र गुल्मी गरी आठ जिल्ला मिलाएर बिशेष क्षेत्र बनाइएको थियो । आधार इलाका र प्रचार इलाकालाई मिलाएर बनाइएको बिशेष क्षेत्रमा कार्यकर्ताहरुको राजनैतिक र वैचारिक स्तरबृद्धिका लागि सो क्षेत्रको राजनैतिक व्यूरोले प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । सोही योजना अनुसार हामीलाई प्रशिक्षण दिनका लागि कामरेड विश्वास लगायतको क्षेत्रिय स्कुलिङ टिम गुल्मी आइपुगेको थियो ।

टिममा सल्यानका क। तिलक मल्ल क्षितिजको नेतृत्वमा प्युठानका क। वादलसिंह, दाङका क। विश्वास, रुकुमका क। मुस्कान, रुकुमकै क। सौभाग्य र गुल्मीका क। मनोज गरी छ जना थिए । उहाँहरु खाना खान जान लाग्दा मैले सरसर्ती त्यो टोलीलाइ हेरेँ । मलाइ क। विश्वाससँग खास रुची लागिरहेको थियो । विश्वास भन्ने नामले मलाइ आकर्षित गरिरहेको थियो ।

त्यहाँ चिनाजानी गर्ने समय मिलेन । जिल्ला सेक्रेटरी सुदर्शन बराल उर्फ कुमार दाइसँग पुर्वी क्षेत्रको स्कुलिङ्ग कार्यक्रमको तयारीको लागि केही सल्लाह गरेर म फर्किएँ । पुर्वी क्षेत्रको स्कुलिङ कार्यक्रम हँसरा गाविसको भण्डारवनमा हुनेभयो ।

हामी एकहप्ते कार्यक्रमको तयारीमा लागेका थियौं । स्कुलिङ विभागका कमरेडहरुलाइ मैले नै रिसिभ गरेर भण्डारवन पुर्याउनुपर्ने भयो । म खैरेनी वजारमा उहाँहरुलाइ पर्खिएर बसेँ । खैरेनी वजारमा रहेको झोलुंगे पुलको मुखैनेर एउटा पिसिओ थियो । क। विश्वासले त्यहाँ कसैलाइ फोन गर्दै हुनुहुन्थ्यो । क्षितिज दाइ पुलनेर यताउता टहलिरहनु भएको थियो ।

विश्वाससँग केही कुरा गर्न मन लागिरहेको थियो । तर उनीसँग मेरो राम्रो चिनजान भस्केको थिएन । हामीबीच वोलचाल भइरहेको थिएन । मैले बोलचाल उनले शुरु गरुन भन्ने म चाहन्थेँ तर उनले मलाइ वेवास्ता गरिरहे । त्यसपछि मैले पनि भैगो भन्दै आफ्नो मन भित्रको वोल्ने रहर मारिदिएँ

हेल्लो कमरेड लालसलाम । म आस्था, तपाईहरुलाइ लिन आएकी। म सरासर अगाडि बढेर क्षिंतिजदाइसँग हात मिलाउन खोजेँ । तर क्षितिज दाइ अकमकिनुभयो । उहाँ अलमल पर्नुभयो म सँग हात मिलाउन मान्नुभएन । उहाँलाइ के लागेछ भने म दुश्मनको कुनै एजेन्ट थिएँ र सिआइडि गर्दै त्यहाँ आइपुगेकी थिएँ । मैले विस्तारमै आफ्नो वारेमा बताएपछि मात्र उहाँहरु कन्भिन्स हुनुभएको थियो ।इन्चार्ज पारशमणी दाइ त्यहीँ खैरेनी वजारमै हुनुहुन्थ्यो । मैले टिमसँग भेट गराइदिएँ ।

स्कुलिङ टिम भोकाइरहेको रहेछ । छिटै हिँड्नुपर्ने बाध्यता पनि छदै थियो । म टिमको लागि एकएकवटा समोसा लिन गएँ । आउँदा उनिहरु हिँडिसकेका रहेछन् । म पनि हातमा समोसाको पोको वोकेरै उकालो लागेँ । मसँग लिम्घा घरभएका एकजना सुरेश नाम गरेका कमरेड थिए ।
भण्डारवन पुग्न करिव ४ घन्टा जति उकालो हिँड्नुपर्थ्यो । म पुग्दा टोलीले खाना खाँदै थियो । विपना मेश कमाण्डर थिइन् । उनैले स्कुलिङ्गको टिमलाइ खाना खुवाउँदै थिइन् । वाटोमा भोक लागेपनि हातमा भएको समोसा खान मन लागिरहेको थिएन । म स्कुलिङ्ग विभागको एकजना सदस्य कमरेड विश्वासको वारेमा सोचिरहेकी थिएँ । एक्लै खान मन लागेन । कमरेडहरुले के सोच्लान भन्ने लाग्यो । ४ घन्टाको उकालो वाटो कमरेड सुरेशसँग खासै नवोलेरै चढेकी थिएँ मैले । मेरो मनभरी कमरेड विश्वासको अनुहार नाचिरहेको थियो ।

वेलुकी कमरेड विश्वाससँग केही कुरा गर्न मन लागिरहेको थियो । तर हाम्रो विचमा कुनै वोलचाल भइरहेको थिएन । यो शिलशिला उनले शुरु गरुन भन्ने म चाहन्थेँ तर उनले मलाइ वेवास्ता गरिरहेका थिए । भैगो, मैले आफ्नो मन भित्रको वोल्ने रहर मारिदिएँ । भोलीदेखी स्कुलिङ्ग कार्यक्रम शुरु हुनेवाला थियो । साथीहरु सवैतिरवाट आउने क्रम जारी थियो । हामी व्यवस्थापनमा खटिइरहेका थियौं । बिशेष क्षेत्रवाट आएको टिमले स्कुलिङ्ग दिनेवाला थियो । धेरै कुराहरु सिक्न पाइने कुराले मन यसैयसै रोमाञ्चित थियो । राती सुत्नु अगाडि फेरी कमरेड विश्वासको अनुहार मेरो मानसपटलमा नाच्न लाग्यो । बल गरेर म त्यो अनुहारलाइ वेवास्ता गर्दै निदाएँ ।

अर्को दिन निर्धारित समयमै स्कुलिङ कार्यक्रम शुरु भयो । पहिलो दिन विश्वासको क्लास थिएन । अरुले आआफ्ना क्लास दिए । भोलीपल्ट मात्र विश्वासको पालो आयो । उनले आफ्नो मृदुल मुस्कानका साथ सेतो वोर्डमा कालो रंगको मार्कर पेनले लेखे– ‘शैन्यविज्ञान’ । उनका अक्षर एकदमै चम्किला, उज्याला र मिलेका थिए । असाध्यै सुन्दर अक्षर लेख्ने उनको प्रस्तुती पनि निकै राम्रो थियो । म हेरेको हेर्यै भएकी थिएँ । दिउँसो चिया खाने समयमा म हत्त न पत्त विश्वास र मनोजको टिममा मिसिँए । विश्वास हल्का मुस्कुराए, मैले पनि मुस्कुराएरै उनको जवाफ दिएँ ।

मैले तिनवटा गिलास सफा गरेर ल्याएँ । पालैपालो तिनवटा चिया ल्याएँ र हामी तिनजनाले कुरा गर्दै चिया पियौं । मैले नै ति गिलास लगेर सफा गरेँ । जवकी म यसरी अगाडि सरेर कसैका गिलास वा थाल माझ्ने मध्येकी केटी थिइन । यसैपनि त्यो समयमा सवैले आआफ्ना भाँडा आफै माझ्ने चलन थियो । म विस्तारै विश्वाससँग आकर्षित हुँदै गइरहेकी थिएँ । तर यो कस्तो प्रकारको आकर्षण थियो । ठम्याइसकेकी थिइन ।
मलाइ उनकै वारेमा सोचेर बसिरहन मन लाग्थ्यो । उनलाइ आफूतिर आकर्षित गर्न मन लाग्थ्यो । उनि मसँग गफिइरहुन भन्ने लागिरहेको थियो । यहाँसम्मकी कार्यक्रम चलिरहेको वेलामा उनले मलाइ मात्र प्रश्न सोधिरहुन, अरु कोहीसँग नबोलुन जस्तो पनि मलाइ लागिरहेको थियो । यस्तो त कसैको वारेमा भएको थिएन । स्कुलिङ्ग चलिरहेकै वेला एकदिन विश्वासले एउटा दस्तावेज देखाए र भने सकेसम्म यो सवैले सारेरै राख्ने कोशिष गर्नुहोला । यो धेरै राम्रो दस्तावेज हो ।

मैले त्यो दस्तावेज मागेँ र रातभर लगाएर डायरीमा सारेँ । एक्लै सार्न सकिन्न कि भनेर मैले अरु तिनवटी जतिलाइ पनि एक एक पाना सारिदिन लगाएँ । भोलीपल्ट विहानै विश्वासलाइ लगेर वुझाइदिएँ । एकीना हाम्रो एरियाकी सेक्रेटरी थिइन् । उनले विश्वासको वारेमा कुरा गरिरहन्थिन् । विश्वास र एकीना गफिइरहेका देखिन्थे । त्यस्तो देख्दा मलाइ डाहा जस्तो लागेर आउँथ्यो । अन्ततः स्कुलिङ्ग कार्यक्रम समापनको दिन आयो । मलाइ औडाहा भएर आयो । अव कार्यक्रम सकिएपछि विश्वास पनि फर्किएर जानेछन् । हाम्रो भेट फेरि हुन पनि सक्थ्यो र नहुन पनि । चिठ्ठी लेख्नका लागि हामीसँग एकअर्काको ठेगाना पनि थिएन ।

विश्वास जुन घरमा बसिरहेका थिए, त्यो घरको अगाडि सयपत्री फुल फुलिरहेका थिए । मैले विदाइको लागि माला तयार पार्नुपर्ने जिम्मा पाएकी थिएँ । फुल टिप्दै गर्दा मैले विश्वास आएर मसँगै फुल टिपिरहेको, हाँसेको कुरा गरेको कल्पना गरेँ । विश्वास त्यो घरभित्र बसिरहेका थिए । म वाहिर आफैसँग आन्दोलित भइरहेकी थिएँ । खासमा मैले उनलाइ एकतर्फी प्रेम जस्तो केही गरिरहेकी थिएँ । फुल टिपेर सकियो तर उनि घरवाट वाहिर निस्किएनन् । मेरो मुटु जोडजोडले हल्लिरहेको थियो । मेरो मुटुजस्तै वरपरका रुखबिरुवाहरु हावाको झोक्कासँगै हल्लिरहेका थिए । मलाइ चिच्याएर उनलाइ वोलाउन मन लागिरहेको थियो । कमरेड विश्वास म तिमीलाइ मायाँ गर्छु । मलाइ सारा दुनियाको अगाडि यस्तै भन्न मन लागिरहेको थियो । उनलाइ अंगालोमा कस्न मन लागिरहेको थियो ।

नैतिकताको कुन्नि कुन वन्धनले हो म अगाडि बढ्न सकिन । मेरा नौ नाडी गलेर आए ।जीवनमा आफूले मन पराएको मान्छे आज टाढा जाँदैछ । म उसलाइ रोक्न सकिरहेकी छैन । मैले उसलाइ मन पराउँछु भनेर पनि भन्न सकिरहेकी छैन । कस्तो विरोधाभास । त्यो वेलाको विरोधाभासपूर्ण अवस्था र मेरो विक्षिप्त मानसिकता सम्झिएर म आज पनि भावुक हुन्छु । संवेदनाको तरलतामा तैरिएर जव त्यो विगत सम्झिन्छु मन यसै यसै कुँडिएर आउँछ । मैले डोकोभरी फुल टिपेर सकेकी थिएँ । उ सँग मनभरीको एक नजर जुधाउनु थियो, मिलेन । म उसको नजिकै पुगेर पनि उसलाइ नदेखि फर्किएर आउनुपर्यो आएँ ।

मैले डोकोभरी फुल टिपेर सकेकी थिएँ । उ सँग मनभरीको एक नजर जुधाउनु थियो, मिलेन । मुलुक युद्ध चरम अवस्थामा थियो । संकटकालका नारकीय दिनमा थियौं । एउटा रोमाञ्चक अनुभुति गर्न नपाउँदै विछोडको तिक्तता भोग्नु पर्यो

मैले ६ वटा माला तयार पारेँ । मनमनै एउटा संकल्प जस्तो के गरेँ भने यदी मैले गरेको प्रेम चोखो प्रेम हो भने मैले उनेको यो सवैभन्दा राम्रो र केही लामो माला विश्वासको गलामा परोस । नभन्दै त्यो त्यस्तै भयो । त्यो माला विश्वासको गलामै पर्यो । मेरो खुशीको सीमा नै रहेन । कार्यक्रम सकियो । उनिहरु फर्किने भए । म पनि केही तल खैरेनी वजारसम्म सँगै आएँ । वाटोमा हामीले केही कुरा गर्यौं । मैले कुरैकुरामा फ्याट्ट सोधेँ–दाङ्ग कस्तो छ हँ ।
जाने हो र दाङ्ग, उसले पनि फ्याट्ट प्रतिप्रश्न गर्यो । कतै मेरो मनको कुरो उसले वुझेछ कि भनेर लाज र शरमले म झुकेकी थिएँ । विश्वासका सवै परिवार पार्टीमा लागेका रहेछन् । भाइ वेपत्ता रहेछन् । एउटी बहिनी गण्डक क्षेत्रको तनहुँ, अर्की बहिनी जनमुक्ति सेनामा र दिदी प्युठान जिल्ला पार्टीमा काम गर्दा रहेछन् । यो कुरा थाहा पाएर मलाइ उसको झनै मायाँ लागेर आयो ।
हामी खैरेनी वजारमा आइपुग््यौं । विश्वाससँग यहीँवाट छुट्नु थियो । मलाइ मुटु चुँडिन लागेजस्तो भएको थियो । उनले झोला वोकेर लमकलमक आफ्ना पाइला अगाडि बढाए । म हेरिरहेँ । न आइ लभ यु विश्वास भन्न सकेँ । न उनको ठेगाना नै सोध्न सकेँ । न हात समातेर नजाउ नै भन्न सकेँ । बश हात मिलाएर उनि गएको हेरिरहेँ । एकछिनको लागि म मुर्तिवत उभिइरहेँ । वोल्नै सकिन । के गर्ने कसो गर्ने सोच्नै सकिन । मैले जीवनमै पहिलोपटक प्रेमको अनुभुति गर्दै थिएँ । तर जस्लाइ प्रेम गरेकी थिएँ, उ मसँग पर ।।।पर।।। गइरहेको थियो । मेरो मुटु रोकिएला जस्तो भएको थियो । एउटा रोमाञ्चक अनुभुति गर्न नपाउँदै विछोडको तिक्तता भोग्नुपरिरहेको थियो ।

मुलुक युद्ध चरम अवस्थामा थियो । संकटकालका नारकीय दिनमा थियौं हामी । के थाहा यो भेट अन्तिम भेट हुनपनि सक्थ्यो । उनीहरु कहाँ जाने हुन मलाइ केही पनि थाहा थिएन । बशः एउटै कुरा थाहा थियो कि म उसको प्रेममा परेकी थिएँ । यो कस्तो विडम्वना । जीवनमा मेरो लागि कति प्रेम प्रस्तावहरु आए ।कतिले प्रेम पत्र पठाए । मैले तिनलाइ कहिल्यै गम्भिर रुपमा लिइन । कसैको प्रेम प्रस्तावलाइ यस वा नो भनेर जवाफ दिन समेत आवश्यक ठानिन तर आज म यस्तो मान्छेको प्रेममा पागल भइरहेकी थिएँ जस्को वारेमा मलाइ केही पनि थाहा थिएन । उसको पृष्ठभुमि, उसको घरपरिवार वा उसको गन्तव्य । बस, म उसलाइ एकतर्फी प्रेम गरिरहेकी थिएँ ।

म खैरेनीको बिच बजारमा उभिरहेकी थिएँ । उ गएको वाटोतिरै हेरेर।।।।। उसले छाडेका पदचापहरु पछ्याउँदै कुदेर उसलाइ भेटाउन मन लागिरहेको थियो । उसको हात समातेर उसलाइ फर्काउन र आफूसँगै राख्न मन लागिरहेको थियो । तर उ त ओझेल परिसकेको थियो ।
आँखाभरी आँशु लिएर म वाटोमा अलपत्र उभिइरहेकी थिएँ । क।सामना आएर मलाइ वोलाइन् । म झसँग भएँ । मेरा साथीहरु नजिकैको सेल्टरमा झोला विसाएर बजार तिर निस्किने तयारीमा थिए । मलाइ भने उसलाइ सम्झिएर रुन मन लागिरहेको थियो । नुहाउने निहुँ बनाएर पानीको धारो भएको ठाँउमा गएँ र कपडैसँग पानीमा थापिएँ । आखाँवाट आँशु बरबर खसिरहेका थिए । मुखवाट हिक्क हिक्क आवाज आउन थालेको थियो । धन्न म त्यहाँ एक्लै थिएँ ।

म मन लागेजति रोएँ, एकछिन पछि उठेँ र यसरी आफ्नो मन बुझाएँ । त्यो कुनै प्रेम थिएन, केवल एउटा सामान्य आकर्षण थियो । विपरितलिङ्गी प्रतिको स्वाभाविक आकर्षण । म एउटा महान उदेश्य लिएर क्रान्तिमा होमिएकी मान्छे । यस्ता झिना मसिना कुरामा अल्झिनु हुँदैन । यस्तै सोचेर म उठेकी थिएँ । प्रशस्त रोएकी पनि थिएँ । त्यसैले मन हल्का भएको थियो ।खैरेनी वजारमा हाम्रो आउने जाने चलिरहन्थ्यो । प्रहरी चौकी उठिसकेका थिए । कहिलेकाँही गस्तीमा आउनुको अलावा सेना यता आउने हिम्मत गर्दैनथ्यो । त्यसरात त्यतै वसेर भोलीपल्ट आफ्नो एरिया अर्थात लुम्पेकतिर जाने योजना बनाएर हामी त्यसरात खैरेनीमै बास बस्यौं । तर विहानै अर्कै खवर आइपुग्यो ।

अखिल नेपाल महिला संघ क्रान्तिकारीले जिल्लाका अगुवा महिला कार्यकर्ताको लागि प्रशिक्षण भेला आयोजना गरेको थियो । सोही भेलामा सहभागी हुनका लागि छापहिले गाविसमा आउनु भन्ने खवर एकाविहानै आइपुग्यो । वाटोमा इन्द्रेगौंडा नाका क्रस गर्नुपर्दथ्यो । त्यहाँ आर्मीले व्यारेक नै खडा गरेर बसेको थियो । त्यसपछि तम्घास नजिकै पर्ने हुनाले मुसिकोट नाका पनि उत्तिकै खतरनाक थियो । रातारात नाका काट्नु कम जोखिमपुर्ण मानिन्थ्यो । तिनताका प्रायःजसो लामो यात्रा रातीमा नै गरिन्थ्यो ।

हामी रातभर हिँडेर भोलिपल्ट विहान छापहिलेमा रहेको कार्यक्रमस्थल पुग्यौं । त्यहाँ पुग्दा खाना खाने वेला भइरहेको थियो । कमरेड विश्वासले खाना खाएर थाल माझ्दै थिए । उनलाइ देख्न वित्तिकै मनको अन्तरकुन्तरमा कतै थन्काएको प्रेमिल भावना फेरी तरंिगत हुन थालेको थियो । मैले टाढै पुगिसकेहोलान भनेका स्कुलिङ्ग विभागका सवैजना त्यहीँ थिए । आज यतै वसेर भोली जाने उनिहरुको योजना रहेछ ।
एउटा गोठको भित्तोमा छेलिएर मैले विश्वासलाइ मनभरी हेँरे । पातलो शरीर, गहुँगोरो अनुहार, ओँठमा हर्दम नाचिरहने एउटा चिरपरिचत मुस्कान, आँखामा चश्मा, न अग्लो न होँचो ठिक्कको उचाइ, लरक्क कोरिएको वाल, घ्यु कलरको भुँइमा कतै कतै सुन्तला र कतै कालो कलरका धर्का भएको ज्याकेट । उ उस्तै थियो जस्तो अवस्थामा मैले बिदाइ गरेकी थिएँ ।

धेरैजसो कमरेडहरुले मसँग लालसलाम भन्दै हात मिलाउन आए । म चाहन्थेँ उ पनि मलाइ वोलाउँदै, परैवाट हात हल्लाउँदै आओस र दरिला हात चपक्क समातेर लालसलाम कमरेड आस्था भनोस भनेर म चुपचाप पर्खिरहेकी थिएँ । तर उ मसँग नवोलेरै हिँडिदियो, देखेको नदेख्यै गरेर । म फेरी पनि हेरेको हेर्यै भएँ । म पो उसलाइ मन पराउँछु त, उसले मलाइ मैले जस्तो नजरले हेरेकै छैन । धत पागल केटी । मैले आफूलाइ आफैले सम्झाएँ । खाना खाएपछि कार्यक्रम शुरु भयो । महिला संगठनको जिल्ला कमिटी सचिव हुनुको हैसिएतले म कार्यक्रम सञ्चालक थिएँ । स्कुलिङ्ग विभागका सवैजना अतिथि बनाइएका थिए । विश्वास पनि मञ्चमा अतिथि भएर बसेकोमा मलाइ लाज जस्तो लागिरहेको थियो । जसोतसो त्यो दिनको कार्यक्रम सकियो । महिला संगठनकी नेता बिमला केसी, र अर्की एकजना केन्द्रिय सदस्य सुनिता शाही र जिल्ला इन्चार्ज पारशमणीले प्रशिक्षण दिए ।

भोलिपल्ट ८ बजेदेखि कार्यक्रम शुरु गर्नुपर्ने थियो । पुसको चिसो स्याँठ चलिरहेको थियो । घरका छत र कान्लाका डिल सवैतिर तुषारो परेर सेताम्य भएको थियो । पारि पाखाका टुप्पाहरुमा विहानी घामका सुनौला किरणहरु पोतिएका थिए । आरुका गर्भिणी वोटमा गुलावी फूल फुल्न लागेका थिए । मेशमा चिया पाकिरहेको थियो । आगो ताप्दै चिया पिईरहेकी मलाइ मनोज दाइ वोलाउन आए । गुल्मीको सिर्सेनी घरभएका मनोज दाइ स्कुलिङ्ग विभागका सदस्य थिए र विश्वासका मिल्ने साथी थिए ।

म झसँग भएँ । कसले पो वोलाउन पठाएको होला, यसो मनमा गमेर हेरेँ । विश्वासले त होइन रु मनमा एक खाले रोमाञ्चकताले जिउ सिरिङ्ग गर्यो । होइन होला, आफैलाइ थुमथुम्याएँ । क्षितिज दाइले वोलाउन लगाए होलान । क्षितिज दाईले मसँग के के कुरा गरिरहनुहुन्थ्यो । एक हप्ते स्कुलिङ्ग कार्यक्रममा पनि क्षितिज दाईले मलाई घरी घरी उठाउँदै प्रश्न सोध्दै गर्नुहुन्थ्यो । आज पनि पक्का क्षितिज दाईले नै बोलाउनुभएको होला भन्ने सोच्दै म मनोज दाइको पछि पछि गएँ । भित्र कतै अवचेतन मनमा भने मेरो मनको राजकुमार विश्वासले नै वोलाउन पठाएको भएपनि हुन्थ्यो । त्यस्तो भयो भने कति जाति हुन्थ्यो । त्यस्तै होस भन्दै मनमनै पुकारा गर्दै म नवोलिकन मनोज दाईको पछि पछि हिँडिरहेकी थिएँ ।

एउटा घरको पिँढीमा ठड्याईएको हरियो भर्याङ्गवाट हामी माथिल्लो तलामा उक्लियौं । मनोज दाइले मलाइ एउटा साघुँरो कोठामा लिएर जानुभयो । त्यहाँ सिरकले छोपिएर त्यहीँ मानिस बसिरहेको थियो जसलाइ मैले मन पराएकी थिएँ । जसको अनुपस्थितीमा जीवन फिका लाग्न थालेको थियो, त्यहीँ चश्मावाल पातलो मान्छे मेरो अगाडि बसेर मुस्कुराईरहेको थियो । म टुक्रुक्क घूँडा टेकेर उसको सामुन्नेमै बसेँ ।
एकअर्कालाइ हेरेर विश्वास र मनोज रहस्यमयी तरिुकाले मुस्काए । मलाइ त्यो मुस्कानको रहस्य थाहा भइहाल्यो । अव विश्वासले मलाइ प्रेम प्रस्ताव राख्दैछ भनेर मैले पहिल्यै अनुमान लगाएँ । विश्वास र म करिव १० मिनेट कुरा गरेर बस्यौं । उनले धेरै कुरा गरे ।आफूले मन पराएको मान्छेले यसरी एकान्तमा प्रेम प्रस्ताव राख्दा म अक्क न बक्क भएकी थिएँ । मनैमन त म खुशीले बुरुकबुरुक उफ्रिएकी थिएँ । औपचारिकताको लागि मैले सोच्नुपर्छ भनेर केही समय मागेँ ।

म खुरुर्र कुदेर कार्यक्रम हलमा पुँगे । एकातिर लाजले पानी पानी भएकी थिएँ । अर्कोतिर कस्तो मान्छे हो, पृष्ठभुमी कस्तो हो, घर कहाँ हो, भविष्यमा दुःख पाइने पो हो की भन्ने सोचेर गम्भिर भएकी थिएँ । कार्यक्रम शुरु हुन लाग्दै थियो । सवै हलमा आइसकेका थिए । म सञ्चालक नै गायव थिएँ । म हत्तपत्त माइक समातेर कार्यक्रम सञ्चालन गर्न लागेँ । वोली लटपट लटपट भइरहेको थियो । यस्तो महत्वपूर्ण कुरा कस्लाइ सुनाऔँ भइरहेको थियो । तर उपयुक्त पात्र भेटाइरहेकी थिइन । दाइलाइ खुव मिस गरेँ । दाइ त्यतिवेला सेनाको कम्पनी कमिसार भएर जिल्ला बाहिर जानुभएको थियो ।

सिर्जना भाउजु त्यहीँ थिइन् । उनि महिला सँगठनकी अध्यक्ष थिइन । उनि अलि कडा स्वाभावकी थिइन् । उनलाइ यस्तो कुरो सुनाउने हो भने उल्टै झपार्लिन भन्ने लाग्यो । अर्की भाउजु निशाना पनि त्यहीँ थिइन् । उनिसँग भावनात्मक कुरा पनि हुन्थे । मैले उनैलाइ विश्वासको कुरा सुनाएँ । निशाना भाउजुले प्रस्ताव स्वीकार गर्दा ठिकै हुन्छ भनेर सुझाव दिइन् । मलाइ अलि राहत भयो । खाना खाने वेलामा क्षितिज दाइले मलाइ एक घन्टा जति कन्भिन्स गरे । उनि विश्वासका आफ्नै भिनाजु रहेछन् । विश्वासले मलाइ फेरी वोलाउन लगाएर भने–हामी आजै हिँड्दैछौं । मलाइ एस अथवा नो चाहियो । तपाइले यतै बस्न भन्नुहुन्छ भने म एक हप्ता पनि यतै बस्न तयार छु । तर हाम्रो टिम आजै अर्घाखाँचीको लागि हिँड्दैछ । मलाई तपाईको जवाफ लिएर मात्र यहाँबाट हिँड्नु छ ।

मैले २ बर्ष पछि बिहे गर्ने शर्तमा प्रेम प्रस्ताव स्वीकार गरेँ । विश्वासले मेरो फोटो मागे, मैले दिएँ । उनको फोटो रहेनछ । उनले मेरो डायरीमा आफ्ना सुन्दर अक्षरले दाङ्गको ठेगाना टिपिदिए । खाना खाएपछि कार्यक्रम स्थगित भयो । सवैले मेरो प्रेम कहानी थाहा पाइसकेका थिए । १२ बजेतिर जिल्ला इन्चार्ज पारशमणी, सेक्रेटरी जितजंग, महिला नेताहरु विमला केसी, सुनिता दिदी, भाउजु सिर्जना, स्कुलिङ टिमका सवैजना र म समेत वसेर हाम्रो विहे गराउने वारेमा छलफल भयो ।

सवैजनाले आजै यहीँ कार्यक्रममा बिहे गर्दा राम्रो हुन्छ भनेर आफ्नो विचार राखे । खासगरी जितजंग र क्षिंतिज दाइले आफ्नो बिहेको उदाहरण दिएरै कुरा राखे । प्रेम र विवाह भनेको एउटै कुरा हो । प्रेम गर्ने विवाहकै लागि हो । विवाह गरेपछि पनि प्रेम हुन्छ । लडाँइ एकदमै पेचिलो अवस्थामा छ । कतिखेर कहाँ मरिने हो थाहा छैन । छिटो विहे गर्दा सवैलाइ राम्रो हुन्छ भन्ने उनीहरुको बिचार थियो । विश्वासले आफ्नो अभिभावक भन्नु नै पार्टी रहेको र पार्टीको जे निर्णय गर्छ त्यो आफूलाइ मान्य भएको विचार राखे । सिर्जना भाउजुले एक अर्काको वारेमा राम्रोसँग थाहा नभइकन विहे गर्न नहुने धारणा राखिन् । अन्तमा मेरो वोल्ने पालो आयो । मैले कम्तिमा २ बर्ष प्रेम गर्न पाउनुपर्ने यदि आजै विहे गर्न कर गर्ने हो भने यो प्रेममा यहीँ पूर्णबिराम लगाउने बिचार राखेँ । एक अर्कालाइ राम्रोसँग वुझेर मात्र विबाह गर्नु राम्रो हुने मेरो बुझाइ थियो । त्यो दिन बिहे नहुने भयो ।विश्वासहरु त्यै दिन अर्घाखाँची हुँदै कपिलवस्तुतिर गए । हामी पनि कार्यक्रम सकेर फिल्डमा फर्कियौं ।
त्यसको १५ महिनापछि जिल्ला इन्चार्ज बामदेव क्षेत्री बिकल्पले प्यूठान जिल्ला इन्चार्ज क। अजितसिंह र दाङ जिल्ला इन्चार्ज क। डायमण्डको नाममा लेखिदिएका दुई चिठी बोकेर म र रोल्पा घर भएकी साथी रेणुका गुल्मीवाट दाङ पुग्यौं । नेताहरु देव गुरुङ र नेत्र बिक्रम चन्द बिप्लवको उपस्थितीमा दाङको दाङवाङ भन्ने स्थानमा विश्वाससँग म जनवादी बिहे बनधनमा बाँधिए । देशमा भने त्यतिवेला जनआन्दोलन भाग २ को तयारी भइरहेको थियो । (आस्था केसीको फेसबुकबाट)

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्