‘सरकारसँग प्रचण्ड बहुमत छ’ – डा. प्रकाशचन्द्र लोहनी



काठमाडौं, ५ माघ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ओली नेतृत्वको सरकारसँग प्रचण्ड बहुमत भएकाले डा. गोविन्द केसीका माग सम्बोधन गर्नुपर्ने बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लबमा बोल्दै लोहनीले भने, ‘प्रधानमन्त्रीजीले संसदमा विद्येयक गइसकेकाले अब मेरो केही छैन, जे गर्छ संसदले गर्छ भनेर गैरजिम्मेवार अभिव्यक्ति दिनुभयो ।

सरकारको अहिले प्रचण्ड बहुमत छ । तर, मेरो केही छैन भनेर उहाँले यसरी गैरजिम्मेवार अभिव्यक्ति दिन मिल्छ ? डा. केसीसँग जे सम्झौता र हस्ताक्षर भएको छ, त्यो सबै लागू हुनुपर्छ ।’

उनले वाइडबडी जहाज खरिद काण्डमा बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारीले संसदलाई ढाँटेको आरोप लगाए । उनले भने, ‘यो प्रकरणमा संसदलाई मन्त्रीले ठाडै ढाँटे । संसदलाई ढाँट्नु भनेको ‘अब्स्ट्रक्शन अफ जष्टिस’ हो । अरु देशमा भएको भए कारबाही हुन्थ्यो ।’

वाइडबडी प्रकरणमा छानबिन गर्न र सत्य, तथ्य बाहिर ल्याउनको लागि पर्यटनमन्त्री अधिकारीले तत्काल राजिनामा दिनुपर्ने पनि माग गरे । उनले भने, ‘लेखा समितिले कारबाहीको सिफारिश गरेको छ । यो यथार्थताको परिवेशमा नेपाल सरकारका पर्यटनमन्त्रीले अविलम्ब राजीनामा गर्नुपर्दछ । र, अख्तियारले अविलम्ब छानबिन सुरु गर्नुपर्छ ।’

उनले आफूहरु अब राप्रपासँग मात्रै नभई देशभरिका प्रजातान्त्रिक शक्तिहरुसँग सहकार्य र एकता गर्ने पक्षमा रहेको सुनाए । उनले भने, ‘हाम्रो पार्टीले देशभरिका प्रजातान्त्रिक शक्तिहरुसँग एकता गर्नुपर्ने महशुस गरेको छ ।

हामी एउटा बलियो प्रजातान्त्रिक वैकल्पिक शक्ति निर्माण गर्ने तयारीमा जुटेका छौं । यसका लागि हामी एकता र गठबन्धन दुवै गरेर अघि बढ्छौं ।’

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्