काठमाडौं । नेपाल प्रहरीले शनिबार देशका विभिन्न भागमा गरी ८ कार्यक्रम र कार्वाही सम्पन्न गरेको छ । यी हुन् नेपाल प्रहरीको केन्द्रीय सूचना ब्यूरोले जानकारी दिएको ९ गतिविधि ।
(१) अन्तरक्रिया कार्यक्रम
महानगरीय प्रहरी वृत्त दरवारमार्गको सहकार्यमा सामुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गको क्षेत्रभित्र पर्ने विभिन्न वित्रीय संघसंस्था अन्तर्गत सहकारी संस्था, फाईनान्स, ईन्सुरेन्स कम्पनी, मनि ट्रान्सफरका संचालकहरुसँग शान्ति सुरक्षा, अमनचयन व्यवस्थापन लगायतका विषयमा अन्तरक्रिया तथा छलफल गरिएको थियो ।
यसैगरी काठमाडौं महानगरपालिका–२५ बिशालबजार स्थित रहेको सासा ब्याङकेटमा समुदाय प्रहरी साझेदारी अवधारणा अनुसार अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
महानगरीय प्रहरी बृत्त जनसेवा काठमाडौंको आयोजनामा उक्त क्षेत्रमा रहेका बिभिन्न बैङ्क, बित्तिय संघ संस्था र सहकारीका संचालक तथा प्रतिनिधिहरुसँग बैङ्क, बित्तिय संघ संस्था तथा सहकारीहरुले अपनाउनुपर्ने शान्ति सुरक्षा तथा सिसिटिभी सम्बन्धी अन्तरक्रिया गरिएको हो ।
(२) सरसफाई तथा चेतनामूलक कार्यक्रम
काठमाडौं महानगरपालिका–२ लाजिम्पाटस्थित खुर्साटीटार चोकमा समुदाय–प्रहरी साझेदारी अवधारणा कार्यक्रम अन्तर्गत खुर्सानीटार, लाजिम्पाट एरियामा सरसफाई तथा चेतना मुलक कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
खुर्सानीटार टोल सुधार समाजको आयोजना तथा महानगरीय प्रहरी वृत्त दरबारमार्ग र सामुदायिक प्रहरी सेवा केन्द्र निलसरस्वतीस्थानको सहआयोजनामा उक्त कार्यक्रम संचालन भएको हो । कार्यक्रममा प्रहरी अधिकृतहरू, टोल सुधार समाजका पदाधिकारीहरु र स्थानिय बासिन्दाहरुको सहभागिता रहेको थियो ।
(३) मूख्य अभियुक्त पक्राउ
दाङ । सामूहिक बलात्कारको घटनामा सर्वोच्च अदालतवाट २०७२ फागुन ३० गतेको फैसला अनुसार ९ वर्ष ११ महिना २ दिन कैद सजाय र ५० हजार रुपैयाँ जरिवाना तोकी फरार रहेका मुख्य अभियुक्त बिजौरी गाबिस–५ घर भई हाल तुलसीपुर उप–महानगरपालिका–१८ बस्ने ३१ वर्षीय विष्णु चौधरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
साथै उक्त घटनामा संलग्न अन्य ६ जनाले यसअघि सजाय भुक्तान गरेको र घटनामा संलग्न फरार रहेका मोहन पुनको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
(४) अवैध लागूऔषधसहित पक्राउ
पर्सा र मोरङबाट अवैध लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सा, पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्ने धोडेमसानबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३१ केजी र चरेश १ केजी सहित मकवानपुर कालिका गाउँपालिका–२ बस्ने १८ वर्षीय महेश योञ्जनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
(५) कटुवा पेस्तोलसहित पक्राउ
सिराहा नगरपालिका–९ ठेगी बस्ने २९ वर्षीय प्रमोद यादवलाई कटुवा पेस्तोल १ थानसहित शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको हो ।
(६) जुवातास खेलिरहेका १३ पक्राउ
कागेश्वरी मनहरा नगरपालिका–४ डाँछी नयाँगाउँ बस्ने मनिष श्रेष्ठको घरमा अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा मनिष श्रेष्ठ समेत ९ जनालाई नगद १७ हजार ८ सय २५ रुपैयाँ र ३ बुक तास सहित शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । यसैगरी काठमाडौं बुढानिलकण्ठबाट ४ जनालाई नगद १९ हजार रुपैयाँ र ३ बुक तास सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
(७) कुटपिट गर्ने पक्राउ
कुटपिट गरेको अभियोगमा काठमाडौंको ठमेलबाट ललितपुर सातदोबाटो घर भएका ४३ वर्षीय दिल गुरुङ र सुनाकोठी बस्ने ३२ वर्षीय निराज महर्जनलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनीहरुले तारकेश्वर–६, गोलढुङ्गा बस्ने ३५ वर्षीय मोहन पुरुवाल र काठमाडौं मनमैजु बस्ने सिन्धुपाल्चोक घर भएका २८ वर्षीय रामकृष्ण भण्डारीलाई कुटपिट गरेका थिए ।
(८) फरार प्रतिवादी पक्राउ
सर्वोच्च अदालतको फैसलाअनुसार कर्तव्य ज्यान मुद्दामा २१ वर्ष ६ महिना कैद सजाय ठहर भई फरार रहेका प्रतिवादी बारा करैयामाई–४ का मनिर मियाँ अन्सारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा उनलाई फेला पारी पक्राउ गरेको हो ।
(९) अवैध सामान बरामद
बारा । निजगढ नगरपालिका–९ स्थित शहिदचोकबाट भन्सार छली ल्याएको करिब ४ लाख ५५ हजार रुपैयाँ बराबरको बाथरुममा प्रयोग हुने विभिन्न सामानहरु शुक्रबार प्रहरीले बरामद गरेको छ । प्रहरीले बरामद सामानहरु आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय वीरगज पर्सा पठाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।