गिटी – बालुवाको चोरी तस्करी रोक्न सांसदहरुको माग



बुटवल । प्रदेश ५ का सांसदहरुले ढुंगा गिटी बालुवाको चोरी तस्करी रोक्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।प्रदेश सभाको आइतबारको वैठकमा विशेष समय लिएर बोल्दै सांसदहरुले नदीहरुबाट अवैध ढंगले ढुंगा गिटी बालुवाको चोरी तस्करी भइरहेको बताए ।रुपन्देहीका सांसद तुल्सी चौधरीले प्रदेश सरकारले बनाएको कार्यविधिको मापदण्ड मिचेर स्थानीय तहहरुले क्रेसर उद्योगलाई जथाभावी उत्खनन् गर्न सिफारिस दिने गरेको पाइएकाले प्रदेश सरकारले त्यसलाई रोक्नुपर्ने ध्यानाकर्षण गराए । उनले क्रसर उद्योगहरु मापदण्ड विपरीत सञ्चालन भइरहेकाले तिनको अनुगमन गर्न माग गरे ।

दाङका सांसद डिल्ली चौधरीले पनि जिल्लाका विभिन्न नदीहरुबाट ढुंगा गिटी बालुवाको चोरी तस्करी बढेको बताए । उनले सर्वसाधारणले सहज रुपमा नपाउने तर क्रसर उद्योगहरुले मनपरी गरिरहेको बताए ।उनले प्रदेश ५ को स्थायी राजधानी र नामाकरणको टुंगो छिटो लगाउनुपर्ने माग गरे । उनले बहुमत र अलपमतको हिसाबले नभई सहमतिका आधारमा यसको निर्णय गर्नुपर्ने धारणा राखे । प्रदेशको स्थायी राजधानी र नामाकरण सिफारिस गर्न बनेको विशेष समितिमा बांके, नवलरासी (पश्चिम) र रुकुमपूर्वका सांसदहरुलाई नराखिनु कमजोरी भन्दै उनले सबै जिल्लालाई समेट्न माग गरे ।

नवलपरासी (पश्चिम) का सांसद दीपेन्द्रकुमार अधिकारीले जिल्लामा बन्द रहेका चिनी उद्योगहरु सञ्चालन गर्नेतर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराए । मिल बन्द हुँदा उखु किसानहरु मर्कामा परेको, किसानले आफ्नो उत्पादनको मूल्य आफै तोक्न नपाएको विषय समेत उनले उठाए ।पाल्पाका सांसद तुलाराम घर्तीले सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा दोभान खण्ड सडक टिप्परहरुको ओभरलोड लगायतका कारण जीर्ण र जोखिमपूर्ण बनेकाले मर्मत सम्भार र स्तरोन्नति गर्न,चुनढुंगगा खानीहरुको अनुगमन र नियमन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए । कपिलवस्तुका सांसद सहसराम यादवले प्रदेश सरकारका कार्यक्रमहरु समावेशी र वजेट पारदर्शी हुनुपर्ने माग गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्