५३ वर्ष पुगिसकेका अभिनेता सलमान खान कहिले विवाह गर्छन् ? सलमानलाई धेरै सोधिने प्रश्न हो यो । यद्यपि, उनी सधैँ प्रेमसम्बन्धका कारण चर्चामा आइरहन्छन् ।
उनको नाम थुप्रै हिरोइनसँग जोडिएको छ । अहिले भने एक समय सलमानकी प्रेमिकाका रूपमा समेत कहलिएकी अभिनेत्री शिल्पा शेट्टीले केही खुलासा गरेकी छिन् । ९० को दशकमा सलमान र शिल्पाको अफेयरले बजार पिटेको थियो । तर, दुवैले सार्वजनिक रूपमा यसलाई स्वीकार गरेनन् ।
सम्बन्ध कुनै पनि मोडमा पुगेन र शिल्पाले व्यापारी राज कुन्द्रासँग विवाह गरिन् । विवाह भएको ९ वर्षपछि भने शिल्पाले सलमानसँगको सम्बन्धलाई लिएर मुख खोलेकी छिन् । उनले भनेकी छिन्, ‘कहिलेकाहीँ सलमान मेरो घरमा आएर वास बस्थे । कहिलेकाहीँ सलमानले मेरो बुबासँग रक्सी पनि पिउँथे ।’
उनले अझै थपेकी छिन्, ‘मलाई याद छ, बुबा बितेपछि सलमान घर आएर सीधै टेबलनजिक गए । जुन टेबलमा सलमान र बुबाले पिउँथे । पुरानो दिन याद गरेर उनी निकै रोएका थिए ।’ सलमान र शिल्पा दश, शादी करके फस गया यार, फिर मिलेंगे, गर्वलगायत फिल्ममा सँगै
देखिएका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।