कस्ता छन् संयुक्त व्यावसायिक प्यानलका सदस्यका उम्मेदवारहरु ?



दाङ उवासंघको निर्वाचन

सैघाली खबर
दाङ, २८ साउन ।  जिल्ला उद्योग वाणिज्य संघको यही साउन ३१ गते निर्वाचन हुँदैछ । नयाँ नेतृत्व चयनका लागि संयुक्त व्यावसायिक प्यानल र प्रजातान्त्रिक व्यावसायिक प्यानलका रुपमा निर्वाचनमा होमिएका छन् । संयुक्त व्यावसायिक प्यानलको नेतृत्व नारायण भुसालले गर्नुभएको छ भने प्रजातान्त्रिक उद्यमी संघको नेतृत्व मञ्जु बज्राचार्यले गर्नुभएको छ । यसै क्रममा आज हामीले संयुक्त व्यावसायिक प्यानलका तर्फबाट उद्योग, महिला तथा खुल्ला सदस्य पदहरुमा प्रतिष्पर्धा गरिरहनुभएका उम्मेदवारहरुसँग हामीहरुले कुराकानी गरेका छौँ । संयुक्त व्यावसायिक प्यानलबाट पोल्ट्री फर्म, कलेजका प्रिन्सिपल, काष्ठ ब्यबसायी, किराना, टुर एण्ड ट्राभल्स, होटल तथा ग्रील उद्योग सञ्चालन गर्दै आएका व्यवसायीले सदस्य पदमा प्रतिष्पर्धा गर्न लागेका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको सदस्यका लागि संयुक्त व्यावसायिक प्यानलको तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरुको बारेमा केही चर्चा गरौं ।

मित्रदेव अधिकारी  काष्ठ उद्योगी उद्योग सदस्यमा भिड्दै
जिल्लामा काष्ठ उद्योगीहरुको प्रतिनिधित्व हुने गरी मित्रदेव अधिकारीले दाङ जिल्ला उद्योग वाणिज्य संघको उद्योग सदस्य पदमा प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । नेपाल राष्ट्रिय बाणिज्य संघ दाङको महासचिव पदमा क्रियाशील अधिकारीले २०६१ सालदेखि न्यू राप्ती काष्ठ उद्योग सञ्चालन गर्दै आउनुभएको छ ।शुभकामना बचत तथा ऋण सहकारी संस्थाको कोषाध्यक्ष तथा सुपर टोल विकास संस्थाको कोषाध्यक्ष रहेर पनि काम गरिरहनुभएका उहाँ काष्ठ उद्योग व्यवसायी दाङको सदस्य पनि हुनुहुन्छ । प्रवेशीका परीक्षा उत्तीर्ण गर्नुभएका मित्रदेव अधिकारीले दाङ जिल्ला उद्योग वाणिज्य संघको उद्योग सदस्यमार्फत् व्यावसायिक हकहितका लागि काम गर्ने गरी सदस्य पदमा उम्मेदवारी दिनुभएको छ ।

हेमन्ती पुन मगर  व्यवसायसँगै नेतृत्वको यात्रामा
हेमन्ती पुन मगर दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा संयुक्त व्यावसायिक प्यानलका तर्फबाट महिला सदस्यमा प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । श्रीमान् सँगसँगै घोराहीमा मौसमी होटल र मौसमी ग्रील उद्योगको सञ्चालन गरिरहेकी हेमन्ती निडर, हक्की र सशक्त उम्मेदवार हुनुहुन्छ । सौडियारमा बस्दा किराना पसल तथा विभिन्न महिला समूहमा बसेर काम गरेको अनुभवसँगै लामो समय घोराहीमा होटल सञ्चालन गरिरहनुभएकी उहाँ साना लगानीका उद्योगी व्यवसायीको हक हितलाई विशेष प्राथमिकताका उठाउने बताउनुहुन्छ ।
२०५२ सालदेखिको मौसमी ग्रील उद्योग र २०६५ सालदेखिको मौसमी होटल सञ्चालन गरिरहँदा उहाँले संघको सदस्य पदमा रहेर काम गर्न सक्ने ल्याकत राख्नुभएको छ । सामान्य लेखपढ गर्ने हेमन्ती पुनले व्यवसायीहरुले आफुलाई भोट दिएर जिताउने विश्वास व्यक्त गर्नुहुन्छ । व्यावसायिक क्षेत्रमा महिलाहरुले सित्तिमित्ती आँट नगर्ने अवस्था अझैं पनि रहेकाले आफूले महिलाहरुलाई सक्षम, आत्मनिर्भर बनाउँदै उनीहरुको उत्साह र आँट अभिवृद्धि गर्न विशेष पहल गर्ने बताउनुहुन्छ ।

महेन्द्र बुढाथोकी  व्यावसायिक हितका लागि उम्मेदवारी
दाङमा पोल्ट्री फर्मको विकास र विस्तारमा क्रियाशील रहनुभएका महेन्द्र बुढाथोकी दाङ जिल्ला उद्योग वाणिज्य संघको सदस्यका लागि प्रतिष्पर्धामा रहनुभएको छ । २०६८ सालदेखि घोराहीमा एम.डि.एस. पोल्ट्री सोलुसन सञ्चालन गर्दै आउनुभएका बुढाथोकीसँग झण्डै १५ वर्ष अघिदेखि पोल्टी फर्ममा काम गरेको अनुभव छ । कहिले मजदूरको रुपमा त कहिले साझेदारीका हिसाबले लामो समय व्यावसायिक क्षेत्रमा समय बिताउनुभएका बुढाथोकी पछिल्लो समय अन्य सामाजिक संघ संस्थाहरुमा पनि सक्रिय भएर लागिरहनुभएको छ ।
रुकुमबाट दाङ झरेर सफल व्यवसायी र समाजसेवीको पहिचान बनाउनुभएका उहाँ हाल रुकुमेली एकता समाजको अध्यक्ष पनि हुनुहुन्छ । त्यस्तै घोराहीस्थित युनाइटेड मण्टेश्वरी प्रालिका अध्यक्ष र इन्द्रेणी मिडिया प्रालिका सल्लाहकार समेत रहनुभएका उहाँ व्यवसायका अतिरिक्त गीत संगीतका क्षेत्रमा पनि विशेष रुचि राख्नुहुन्छ । स्थानीय कलाकारहरुको प्रोत्साहन, संरक्षण र लोक गीत संगीतको प्रवद्र्धनमा उहाँको राम्रो योगदान रहेको छ । स्नातक उतीर्ण बुढाथोकी दाङ जिल्ला उद्योग वाणिज्य संघको सदस्यमा विजयी भएर यहाँको व्यावसायिक हकहितका लागि उदाहरणीय काम गर्ने चाहना भएको बताउनुहुन्छ ।

भिमसेन गिरी  प्रिन्सिपल हुदै उवासंघको सदस्यको तयारीमा
सूचना प्रविधि र इञ्जिनियरिङको क्षेत्रमा राप्ती क्षेत्रकै पहिलो राप्ती इञ्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक भिमसेन गिरी दाङ जिल्ला उद्योग वाणिज्य संघको सदस्य पदमा प्रतिष्पर्धा गरिरहनुभएको छ । २०५६ सालदेखि विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील गिरीले यस क्षेत्रमा सूचना प्रविधि भित्र्याउन विशेष भूमिका निर्वाह गर्नुभएको छ । दीपशिखा कम्प्युटर एण्ड एबिसी ल्याङ्ग्वेज सेन्टरको संस्थापकसमेत रहनुभएका गिरी दाङ नेशनल फाउण्डेसन अफ एजुकेशनलका सदस्य सचिवसमेत रहनुभएको छ । प्रस्तावित राप्ती इन्टरनेशनल कलेजका प्रिन्सिपल रहनुभएका गिरीले एमए, पिएचडी स्कलर कम्प्युटर एजुकेशन पढ्नुभएको छ । हाल कम्प्युटर एशोशियसन संघ (क्यान) दाङका अध्यक्षसमेत रहनुभएका गिरी विभिन्न सामाजिक संघ संस्थाहरुमा पनि प्रतिनिधित्व गर्नुहुन्छ । कुनै बेला प्युठानको तोरबाङ गाविसमा प्राविधिक सहायक तथा शिव मावि प्युठानमा मावि शिक्षकको रुपमा सेवा गर्नुभएका गिरी यसपटक संयुक्त व्यावसायिक प्यानलबाट दाङ उद्योग वाणिज्य संघको सदस्य पदमा उम्मेदवारी दिनुभएको छ ।


विष्णुप्रसाद सुवेदी  सुपर मार्केटबाट उवासंघको बाटोमा
दाङ जिल्लामा सुपर मार्केटको अवधारणासहित व्यवसाय सञ्चालन गर्दै आउनुभएका विष्णुप्रसाद सुवेदीले दाङ जिल्ला उद्योग वाणिज्य संघको सदस्य पदको तयारीमा रहनुभएको छ । २०६६ सालमा पहिलो पटक दाङमा सुपरमार्केटको सम्भावना जगाउनुभएका सुवेदीले त्यसअघि विदेशमा व्यवसायको आइडिया पाउनुभएको थियो ।कतारमा मार्केटिङको सीप प्राप्त गर्नुभएका सुवेदीले नेपाल फर्केपछि दाङको घोराहीमा सुपर मार्केटको अवधारणासहित राप्ती सुपर मार्केट स्थापना गरी व्यवसाय शुरु गर्नुभएको थियो । राष्ट्रिय उद्योग वाणिज्य संघका जिल्ला सदस्यसमेत रहनुभएका सुवेदी सिसा सगुन सहकारी सस्थाको शेयर सदस्य, मनकामना टोल विकास सस्थाको समेत रहेर काम गरिरहनुभएको छ ।विएल अध्ययन पूरा गर्नुभएका सुवेदीले २०५३ सालमा विरगञ्जमा अधिवक्ताको रुपमा अनुभव बटुलिसक्नुभएको छ । देश, विदेशदेखि विभिन्न क्षेत्रको अनुभवले खारिनुभएका सुवेदी अहिले दाङ जिल्ला उद्योग वाणिज्य संघको सदस्यका लागि संयुक्त व्यावसायिक प्यानलबाट प्रतिष्पर्धामा रहनुभएको छ ।

नारायणप्रसाद लामिछाने  ट्राभल्स व्यवसायी उवासंघमा आउने तयारी
२०४५ सालदेखि सन्तोषी माँ जलपान गृहलगायतका व्यवसाय सञ्चालन गर्दै आउनुभएका नारायणप्रसाद लामिछाने अहिले दाङ जिल्ला उद्योग वाणिज्य संघको सदस्यका लागि प्रतिष्पर्धामा रहनुभएको छ । जलपान गृहसँगै लामिछानेले जिल्लामा पहिलो पटक मुना टुर एण्ड ट्राभल्स प्रालि सञ्चालन गर्नुभएको छ । यस्तै लामिछानेले पहिरन कलेक्सन, एभरेष्ट लिंकवयर स्टोर पनि सञ्चालन गर्दै आउनुभएको छ ।
आइएसम्म पढ्नुभएका लामिछानेले सामाजिक काममा केही गरेर देखाउने उद्देश्यले उद्योग वाणिज्य संघमा आउन चाहेको बताउनुहुन्छ । व्यवसायमा लामो समय बिताउनुभएका लामिछानेले उद्योग बाणिज्य संघमार्फत् समाजसेवामा प्रवेशको तयारी गर्नुभएको छ ।

पिताम्बर शर्मा पिताम्बरको सपना उवासंघको
विधिवत रुपमा २०६२ सालदेखि व्यवसाय सञ्चालन गर्दै आउनुभएका पिताम्बर शर्माले घोराहीमा पिएस एण्ड ब्रदर्श मोटर्स पार्टस् व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । विभिन्न सामाजिक संघस्थामा क्रियाशील शर्माले दाङ जिल्ला उद्योग बाणिज्य संघको सदस्य पदका लागि प्रतिष्पर्धामा रहनुभएको छ । नेपाल राष्ट्रिय वाणिज्य संघको सदस्यसमेत रहनुभएका शर्मा त्रिभुवन नगर जेसिजको सदस्य, स्टार बचत तथा ऋण सहकारी संस्थाको कोषाध्यक्ष, पानस सामाजिक उद्यमीको सदस्यसमेत रहेर काम गरिरहनुभएको छ ।
उद्योग वाणिज्य संघका विभिन्न जिम्मेवारी लिएर काम गर्नुभएका शर्माले पहिलो पटक आफुलाई संघको सदस्य पदका लागि प्रतिष्पर्धामा रहेको बताउनुभयो । विएसम्म अध्ययन गर्नुभएका शर्माले नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्यता लिनुभएको छ । विशेषगरी शर्माले वैकल्पिक ऊर्जासम्बन्धी व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ ।

रामप्रसाद पोखरेल  उपसमिति हुँदै उवासंघको तयारीमा
दाङ जिल्ला उद्योग वाणिज्य संघको गल्ला किराना व्यवसाय उपसमितिका विभिन्न पदमा रहेर काम गर्नुभएका रामप्रसाद पोखरेलले यस पटकको निर्वाचनबाट संघको सदस्यका लागि तयारी गर्नुभएको छ । नेपाल राष्ट्रिय वाणिज्य संघको जिल्ला कोषाध्यक्षसमेत रहनुभएका पोखरेल गल्ला तथा किराना व्यवसायी उपसमितिको दुई कार्यकाल सदस्य र हालसम्मको सचिव पदमा रहेर काम गरिरहनुभएको छ ।
२०६१ सालदेखि घोराहीमा पोखरेल किराना पसल सञ्चालन गर्दै आउनुभएका पोखरेलले विभिन्न सामाजिक काममा पनि सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्नुभएको छ । संघको सदस्यमा विजयी भएमा उद्योगी ब्यवसायीहरुको हितका पक्षमा काम गर्ने उहाँको प्रतिबद्धता रहेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्