मलेसियाका लागि श्रमस्वीकृति दिन सुरु



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंस्थित मलेसियन दूतावास आफैंले राहदानी लिई श्रमिकलाई सोझैं भिसा उपलब्ध गराइएमा श्रमस्वीकृति दिने निर्णय गरेको छ ।

मन्त्रालयको निर्णय अनुसार वैदेशिक रोजगार विभागले दूतावासबाट सोझै भिसा पाएका २० जनालाई श्रमस्वीकृति दिएको हो । श्रमस्वीकृति पाएका २० जना मलेसिया गइसकेका छन् । श्रम सम्झौतापछि मलेसिया जाने यो पहिलो समूह हो । उनीहरु ओटा टनेल कम्पनीमा ५ हजार रिंगेट तलब पाउने गरी गएका हुन् ।

विभागले काठमाडौंस्थित मलेसियन दूतावासको पत्रलाई टेकेर श्रमस्वीकृति दिइएको जनाएको छ । ‘दूतावासबाट सोझै‌ं भिसा पाएकालाई श्रमस्वीकृति दिन कम्पनीले विभागमा निवेदन दिएको थियो । त्यसलाई श्रमस्वीकृति दिन मन्त्रालयबाट सहमति प्राप्त भएको विभागका महानिर्देशक दिलिप चापागाईले जानकारी दिएका छन् ।

विभागका अनुसार दूतावासले यसैगरी भिसा पाउने श्रमिकको नामावलीसहित पत्र पठाएमा श्रमस्वीकृति दिँदै जानेछ । सरकारले गत जेठ २ देखि मलेसिया जाने नयाँ श्रमिकको श्रमस्वीकृति रोकेको थियो । गत कार्तिक १२ गते दुई देशबीच द्धिपक्षीय श्रम सम्झौता भएपनि श्रमस्वीकृति प्रक्रिया सुचारु भएको थिएन ।

भिसा प्रक्रियाको लागि वैदेशिक रोजगार व्यवसायीले सोझै राहदानी बुझाउन जाँदा काठमाडौंस्थित मलेसियन दूतावासले राहदानी लिने गरेको छैन । दूतावासले भिएलएन नेपालमार्फत भिसा प्रक्रिया गर्न भन्दै आएको छ । भिएलएनलाई सरकारले खारेज गरेको छ । काठमाडौं र ललितपुर जिल्ला अदालतमा भिएलएन विरुद्ध मुद्दा छ । ललितपुर अदालतले भने भिएलएनको मुद्दा खारेज गरिदिएको छ ।

वैदेशिक रोजगार व्यवसायी संघले श्रमिकले भिसा प्रक्रियाको लागि भिएलएन नेपाललाई रकम बुझाएको जनाएको छ । श्रमिकले भिसा प्रक्रियाको लागि ७ हजार चार सय रुपैया शुल्क बुझाएको हो । ‘व्यवसायीले कलिङ भिसा पाएका श्रमिकलाई श्रमस्वीकृति दिन वैदेशिक रोजगार कार्यालयमा फाइल पेश गर्नेछ,’ वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले भने, ‘कार्यालयबाट व्यक्तिगत मात्रै नभई संस्थागत रुपमा जाने श्रमिकलाई श्रमस्वीकृति प्रक्रिया अगाडि बढाइनेमा हामी आशावादी छौं । त्यसको लागि मन्त्रालयबाट आवश्यक सहजीकरण हुने अपेक्षा राखेका छन् ।’ श्रमस्वीकृति दिइएमा मन्त्रालयले कारण, औचित्य, सहित सबैले बुझ्ने भाषामा स्पष्ट पार्नुपर्ने गुरुङले बताए ।

श्रम समझदारीको भावना अनुरुप श्रमस्वीकृति प्रक्रिया अगाडि बढाएको श्रम मन्त्रालयले जनाएको छ । मन्त्रालयले कलिङ भिसा पाएकालाई सोझै भिसा उपलब्ध गराउन मलेसियालाई अनुरोध गरेको छ । झन्डै १० हजार श्रमिकले कलिङ भिसा पाएको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्