अध्यक्षका प्रत्यासी श्रेष्ठद्वारा उम्मेदवारी फिर्ता, भुसाललाई समर्थन



 

सैघाली खबर
दाङ, साउन २८ । दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षका प्रत्यासी धु्रवकुमार श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको छ । श्रेष्ठले शनिबार एक विज्ञप्ती जारी गर्दै संयुक्त व्यावसायिक प्यानलका अध्यक्षका उम्मेदवार नारायण भुसालसहितको टीमलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको हो ।संघका संस्थापक, पूर्व र वर्तमान अध्यक्षसमेतले आफूलाई सर्वसम्मतिमा आफूलाई अध्यक्ष बनाउन निर्णय गरेको र उक्त निर्णय कार्यन्वयनको क्रममा एमाले र माओवादी केन्द्रले स्वीकार गरे पनि कांग्रेसले आफूलाई अस्वीकार गरेर सहमतिको बाधक बनेपछि चुनावी प्रक्रियाबाट बाहिरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।


‘यही २०७४ साउन ३१ गते हुन लागिरहेको १३ औं अधिवेशनमा मैले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको थिएँ । साझा संस्थामा सबैको सहमतिबाटै नेतृत्व चयन गरी सबै मिलेर जानुपर्छ भन्ने मर्मअनुरुप संघका संस्थापक अध्यक्ष, पूर्वअध्यक्षज्यूहरु र वर्तमान अध्यक्षज्यूले समेत मलाई सर्वसम्मतिबाट अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेकोमा उहाँहरुलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु ।’ विज्ञप्तीमा भनिएको छ, ‘संघका अग्रजहरुको सो निर्णयलाई कार्यान्वयनमा लैजाने क्रममा प्रमुख पार्टीहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा अन्य पार्टीबाट पूर्ण समर्थन हुँदाहुँदै नेपाली कांग्रेसले मेरो पक्षमा सर्वसम्मत गराउने निर्णयलाई अस्विकार गरी सर्वसम्मतिबाट उद्योग वाणिज्य संघको नेतृत्व चयनमा बाधक बनेको हुँदा म आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु ।’ आफूले उम्मेदवारी फिर्तासँगै नारायण भुसाल नेतृत्वको संयुक्त व्यावसायिक प्यानललाई समर्थन गर्ने जनाउँदै श्रेष्ठले विज्ञप्तीमा भुसालको प्यानललाई भोट दिई जिताउन उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।

‘मैले निर्वाचनमा संयुक्त व्यावसायिक प्यानललाई समर्थन गर्ने सम्पूर्ण मेरा शुभचिन्तक उद्योगी, व्यापारीज्यूहरुलाई जानकारी गराउँदै संयुक्त व्यावसायिक प्यानलबाट उम्मेदवारी दिनुभएका कर्मठ, इमान्दार, सक्षम उद्योग वाणिज्य संघ र सम्पूर्ण उद्योगी व्यवसायीहरुको हक हितमा जहिले पनि सकारात्मक भूमिका खेल्न सक्ने अध्यक्ष पदका उम्मेदवार नारायण भुसालसहित उहाँको पूरै प्यानललाई आफ्नो अमूल्य मत दिई विजयी गराउनुहुन सबै उद्योगी व्यवसायीज्यूहरुमा सादर अनुरोध गर्दछु ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्