काठमाडौ । नेविसंघ ओखलढुंगाको अधिवेशनमा कांग्रेस जिल्ला नेताहरूबीच कुटाकुट भएको छ । नेताहरूबीच नै हात हालाहाल भएपछि अधिवेशन भाँडिएको छ । कार्यक्रमस्थलमै कुटपिट भएपछि ओखलढुंगा कांग्रेसका पुराना नेता बालकृष्ण दाहाल अस्पताल भर्ना भएका छन् । टाउकोमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको नेता लीलाबल्लभ दाहालले जानकारी दिए ।
सोमबार विहान ११ बजे नेविसंघको १२औँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रम थियो । अधिवेशन उद्घाटन समारोहमा आसन ग्रहण र भाषणको विषयमा विवाद भएपछि दुई समूहबीच झडप भएको हो । शेरबहादुर देउवा पक्षले चुनावका वेला पार्टीलाई अन्तर्घात गर्ने नेतालाई कार्यक्रममा आसन ग्रहण नगराउने अडान लिएपछि विवाद बढेको थियो ।
विवादकै बीच नेविसंघका जिल्ला अध्यक्ष प्रदीप बानियाँले कार्यक्रम सुरु गर्न निर्देशन दिएपछि रामचन्द्र पौडेल पक्षले नाराबाजी गरेका थिए । केन्द्रीय प्रतिनिधिलाई समेत बाहिर राखेर अधिवेशन गर्न लागिएको भन्दै पौडेल पक्षले विरोध गरेपछि विवाद बढेको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।