विचार

कृपया कसैलाई विचरा नभन्नुस

By थाहा अनलाइन

January 22, 2019

पार्वती बस्नेत।

जीवनमा आरोह र अवरोह आउछन् अनि जान्छन् कहिले अनगिन्ती खुसी लिएर त कहिले पिडा दिएर तरपनि जीवन अनुभव र अनुभुतिको संगालो हो केही पाठहरु सिकाएर त केही सिक्ने अवसर दिएर जीवनले गति अगाडी बढाएकै हुन्छ ।

पृथ्वीमा हरेक किसिीमका मान्छेहरु छन् । हरेक सँग क्षमता छ ,प्रतिभा र हरेक सँग केहि न केहि गुण अवस्य पनि छ । कत्तिले आफनो क्षमताको पहिचान गर्न सक्छन् कत्तिले आफैलाई चिन्न नसकेर गुमनाम जिन्दगी व्यतीत गरिरहेका हुन्छन् । तर पनि हामी अनि हाम्रो समाजमा बस्ने हामी सभ्य मानिएका मानवहरुको पनि आफनै किसिमको हैसियत बनेको छ ।

अरुका अगाडी आफुलाई बरिष्ठ बनाउन अरुलाई तुच्छ, नीच किसिमको व्यबहार गर्नै पर्ने हुन्छ । यो रोग साना देखि मै हु भन्नेहरु जो कोहीमा पनि रहेको छ अर्थात यो रोगबाट मै हु भन्नेहरु पनि अछुतो भने रहेका छैनन् ।

हरेकसँग सीप क्षमता हुदाहुदै पनि कत्तिपय पात्रहरु किन विचराका पात्रहरु बन्न पुगेका हुन्छन् होला । त्यो कुरा चाही आजसम्म कहिले पनि मैले बुझन सकेको छैन् ।

यसरी बिचाराका पात्रहरु बन्नेमा अनाथहरु, एकल महिला, अपाङहरु लगायतका पर्ने गरेका उदाहरणहरु देखेकी छु । विचरा त कोही नि छैन् यहाँ फरक त्यत्ति हो आफ्नो लगन शिलता र मिहेनतले नै पाखुरी बजारे रै काम गरिखाने हो सबैले, त्यत्ति मात्रै होइन् मै हु भन्नेहरु पनि मरेर जाँदा रित्तो हात नै गएका छन् भने कत्तिले फरक गर्व गर्न लायकका सुयोग्य कामहरु गरेकै कारण केहि व्यक्तिहरु अजर अनि अमरसम्म बनेका छन् ।

“बिचरा” यो शब्द मैले जानेर वा नजानरे धेरैपटक आफ्नो जीवनमा आफैले पनि प्रयोग गरेको छु तर आजभोलि यो शब्द मलाई प्रयोग गर्न मन लाग्दैन् किनकी विचरा र कठैको पात्र यहाँ कोही नि हुदै हुदैन् । समयले दिएको घाँउलाई मलहम पनि समयले नै लगाउने गर्छ ।

अर्थात समय जस्तो बलवान यहाँ केही छदै छैन् । जिन्दगी जसको जस्तो किन नहोस् उ हरेक पलमा रमाउन सक्ने, हरेकले आफ्नो छुटटै संसार बनाउन सक्नेसम्मको हैसियत सबैले राखेकै हुन्छ । तर पनि मान्छेहरुले खै किनकिन धेरैले धेरैलाई बिचरा र कठैको पात्रको रुपमा नै देख्ने गरेका हुन्छन् । होला कसैले बाटो देखाइदेला, केही ठाँउमा पु¥याउनका लागी सहयोग गरि देला तर त्यहाँ पुगेर काम गर्ने भनेको उसको क्षमता र बौद्धिकताको कुरामा नै भरपर्छ ।

त्यहाँ पनि विचरा र कठैको कुरा नगर्दा उचित होला किनकी आवश्यक्ता भन्ने कुरा दोहरो नै हुने गर्छ । भोक लाग्छ र खाईन्छ त्यसका लागी भोजनको आवश्यक्ता पर्यो, कुनै कम्पनिमा काम गर्न गयो, कम्पनिलाई व्यक्तिको आवश्यत्ता र व्यक्तिलाई कामको अर्थात यी कुरा भनेका एक अर्का बीचका परिपुरक नै हुन् । यहाँ पनि बिचरा र कठै यो शब्द प्रयोग नगर्दा नै राम्रो होला भन्ने लाग्छ ।

हुन त मेरो बुझाई पनि गलत हुन सक्छ किनकी लाखौ ज्ञानवान र बौद्धिक ब्यक्तिहरुको बीचमा म झुसिलकिरोले सबै कुरा जानेकै छु, बुझैकै छु जस्तो गर्नु पनि उचित होईन् तर पनि आजसम्म मैले जे बुझेको छु र मेरो मनले जे कुरालाई सहि र सत्य देख्छ त्यसलाई आत्मसाथ गर्दै अघि बढेको छु ।

फरक त्यत्ति हो यहाँ हरेक सँग क्षमता छ, बिचार छ, कत्तिले प्रष्फुटन गर्ने ठाँउ पाउछन् कत्तिले, गुम्सायर बस्नुपर्ने बाध्यता रहेको छ । ती बाध्यता र अवसरका बीचमा पनि मान्छेले आफुलाई गतिशिल बनाएर अघि बढिरहेको हुन्छ त्यसैले । कसैले पनि कसैलाई अवका दिनहरुमा विचराका पात्रहरु नभनिदिए, नबोलिदिए हुने भन्ने आभाष चाही लागिरहन्छ । त्यसैले कृपया कसैलाई विचरा नभन्नुस ।