काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण संघीय संसदको बैठक तीन दिनका लागि स्थगित गरिएको छ। डा. गोविन्द केसीसँग भएका सहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित गर्नुपर्ने माग गर्दै मंगलबार संसद अवरुद्ध गरेको थियो। दोस्रो पटकलाई १५ मिनेटका लागि स्थगित गरिएको संसद बैठक सूचना टाँस गरी माघ ११ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो।
संसद अवरोध गरेपछि नेकपाका नेताहरू भने आक्रोशित बनेका छन्। उनीहरू कांग्रेसले नै उक्साएर डा. केसीलाई अनशन बस्न लगाएको गम्भीर आरोपसमेत लगाएका छन्।
संसद अवरोध र मर्यादाविपरीत काम गरेकाले कांग्रेसले नै डा. केसीलाई अनशन बस्न लगाएको भन्ने प्रमाणित भएको नेकपा सांसद खजराज अधिकारी बताए। मंगलबारको प्रतिनिधिसभालाई कांग्रेस सांसदहरूले अवरोध गरेपछि पत्रकारलाई प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।
कांग्रेसका सांसद गगन थापाले सभामुखले पेल्न खोजेको भन्दै सभामुखको विरुद्धमा लाग्ने बताए। मंगलबार सांसदमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक-२०७५ पारित गर्ने एकमात्रै कार्यसूची रहेता पनि कांग्रेसका सांसदको अवरोधका कारण उक्त विधेयक संसदमा पेस हुन सकेन।
कांग्रेसले डा. केसीसँग भएका पूर्वसहमतिअनुसार नै विधेयक पारित गर्ने पर्ने अडान लिँदै आएको छ भने सरकाले डा केसीसँग भएका ९५ प्रतिशत सहमति विधेयकमा समावेश भएको जनाउँदै आएको छ। त्यस्तै कांग्रेसले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खोल्न लागिएका अस्पताललाई खारेज गर्न खोजेको भन्दै सदन र सार्वनिक ठाउँबाट आक्रोश व्यक्त गर्दै आएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।