काठमाडौं, । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले नगरपालिकाभित्र निशूल्क लोक सेवा तयारी कक्षा सञ्चालन गरेको छ ।
नगरपालिकाले महिलाहरुलाई लक्षित गरी लोकसेवाको निशूल्क तयारी कक्षा सञ्चालन गरेको हो । सोमबारबाट सुरु भएको कक्षामा ५० जना विद्यार्थी सहभागी छन् । कक्षा बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म चल्नेछ ।
चौतारा बहुमूखी क्याम्पसमा आगामी फागुन ७ गतेसम्म तयारी कक्षा चल्नेछ । नायव सुब्बास्तरको परीक्षाका लागि सञ्चालन गरिएको तयारी कक्षामा ६ जना शिक्षकले पढाइरहेका छन् । ६ घण्टा लामो कक्षामा लामा र छोटा प्रश्नहरु, तिनको उत्तर, लोकसेवा परीक्षाको लेखनशैली, स्मरण शक्तिका लागि आवश्यक सुत्रहरु, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षाको तयारी लगायतका विषयमा पढाइनेछ ।
नगरपालिकाको आर्थिक वर्ष २०७५र०७६ को स्वीकृत बजेटबाट तयारी कक्षा सञ्चालन गरिएको नगर उपप्रमूख जानुका पराजुलीले जानकारी दिइन् । ‘नगरपालिकाले महिलाहरुका लागि छुट्टाएको बजेटबाट नै तयारी कक्षा सञ्चालन गरेका हौं,’ उपप्रमूख पराजुलीले भनिन्, ‘यसले महिलाहरुको व्यक्तित्व विकास र भविष्य निर्माणमा गुणात्मक परिणाम दिने अपेक्षा गरेका छौं ।’
स्थानीय तहले महिला लक्षित कार्यक्रमलाई परम्परागत बनाइरहेका बेला चौतारा नगरपालिकाले भने नौलो कार्यक्रम अघि सारेको हो । ‘यस्ता कार्यक्रमले मात्र महिलाहरुलाई पुरुषहरुसँग खुल्ला प्रतिस्पर्धा गर्ने हैसियतमा पुर्याउँछ,’ पराजुलीले भनिन्, ‘तयारी कक्षाले त्यसको जग बसाल्नेछ ।हामी लोकसेवाको तयारी कक्षा पढ्न काठमाडौं नै जानुपर्ने बाध्यता थियो ।
नगरपालिकाले एकदमै राम्रो कार्यक्रम ल्याएको छ,’ नायव सुब्बा तयारी कक्षामा पढिरहेकी रस्मिता नेपालीले भनिन्, ‘हामी अत्यन्तै उत्साहित छौं । एक महिना पूरै मेहेनतका साथ पढ्छौं । यो कक्षाले लोकसेवामा नाम निस्कन्छ भन्नेमा पनि आशावादी छौं ।’
कक्षामा सहभागी अर्की विद्यार्थी अस्मिता अधिकारीले नगरपालिकाले दीर्घकालीन सोच राखेर कार्यक्रम ल्याएकोमा धन्यवाद दिइन् । अधिकारीले भनिन्, ‘सरकारले महिलाका लागि अरबौं बजेट खर्च गर्छ । तर, खर्च गरिएको लगानीबाट खासै प्रतिफल आउँदैन । यो कार्यक्रम त्यसभन्दा भिन्न छ । तयारी कक्षाले हामीलाई आशावादी र उत्साहित बनाएको छ ।’
तयारी कक्षाको सोमबार नगर प्रमूख अमानसिंह तामाङले उद्घाटन गरेका थिए। कक्षा उद्घाटन गर्दै तामाङले सरकारी सेवामा नगरको पहुँच बढाउन तयारी कक्षा चलाएको बताए । नगरपालिकाले पढाउने शिक्षकलाई प्रतिकक्षा २००० रुपैंयाँ तलब दिने बताएको छ

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।