बिकिनी लगाएर पहाडको चुचुरोमा पुग्ने यी युवतीको चिसोका कारण मृत्यु



ताइवानकी एक युवती थिइन् । पहाडसँग प्रेम थियो उनलाई । पहाडमा चढ्न, लामो यात्रामा निस्कन उनलाई मन पर्दथ्यो  । ११ जनवरीमा पनि उनी पहाडमा गइन्, तर त्यहाँबाट फर्किएर आइनन् ।

‘बिकिनी हाइकर’ को नामले चर्चित छिन् ३६ वर्षे गिगी वू । गिगीलाई वू ची–यूंको नामले पनि चिनिन्छ ।

द टेलिग्राफका अनुसार ११ जनवरीमा उनी एक्लै पहाडको यात्रामा निस्किइन् । यात्राकै क्रममा उनलाई चोट लाग्यो र उनी घाइते भइन् । उनले १९ जनवरी शनिबार आफ्ना साथीहरुलाई सेटलाइट फोनमार्फत् फोन गरिन्, ‘समस्यामा छु । युसान नेशनल पार्कमाको एउटा खोल्सामा खसेको छु । चोट लागेका कारण हिँड्न सक्दिनँ । मद्दत गर ।’

 

अधिकारीका अनुसार उनले साथीहरुलाई आफ्नो शरिरको तल्लो भाग एउटा खोल्साको २०–३० मिटरमा फसेका कारण आफू चल्न नसक्ने पनि जानकारी दिएकी थिइन् ।

त्यसपछि नेशनल एयरबोर्न सर्भिस दलले उद्दारका लागि कालो हेलिकोप्टर पठायो । एकपटक होइन । तीन पटक । तर मौसम खराब भएकाले हेलिकोप्टर अवतरण गर्न सकेन । तापक्रम २ डिग्री सेल्सियस नजिक थियो । त्यसपछि उनको खोजबिनका लागि तीन व्यक्तिको दुई समूह बनाइयो । दुबै समूह २८ घण्टासम्म खोजीकार्यमा लागिरह्यो  र सोमबार उनको शव भेटियो । चिसोका कारण उनको शव लगभग जमिसकेको थियो ।

टिमका कमान्डर लिन चेंगलीले भने, ‘गिगीको शव समुन्द्री सतहभन्दा करिब १७०० मिटरमा भेटियो ।’

३६ वर्षकी गिगीलाई पहिले पनि पहाडमा थुप्रै पटक चोट लागेको थियो र उनी गम्भीर रुपमा घाइतेसमेत भएकी थिइन् । सन् २०१८ को क्रिसमसको मौकामा गिगीले सोसल मिडियामा फोटो पोस्ट गर्दै लेखेकी थिइन्, ‘धन्य, म बाँच्न सफल भएँ ।’

 

गिगी आफ्नो इन्स्टाग्राम पेजमा जुन फोटो पोष्ट गर्थिन्, तीमध्ये कतिमा उनी निकै अग्ला पहाडमा पनि हुन्थिन् । उनी भन्थिन्, ‘म वर्षको एक तिहाईभन्दा बढी (१२७ दिन) हाइकिङलाई दिन्छु ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्