काठमाडौं । सेवाग्राहीसँग घूस लिँदै गरेको अवस्थामा इन्जिनियर र सवइन्जिनियर पक्राउ परेका छन् । रूपन्देहीको शुद्दोधन गाउँपालिका कार्यालयको प्राविधिक शाखामा कार्यरत इन्जिनियर कपिल अर्याल र सवइन्जिनियर लक्ष्मण ढुङ्गाना सेवाग्राहीसँग घूस लिइरहेको अवस्थामा पक्राउ परेका हुन् ।
सेवाग्राहीको पुरानो भवनको नक्सा पास तथा अभिलेखीकरण गरिदिएवापत विभिन्न बहाना बनार्इ घूस रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले उनीहरूलाई पक्राउ गरेको बताइएको छ ।
निज इन्जिनियर अर्याल र सवइन्जिनियर ढुङ्गानालााई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको पुष्टि हुन आएकाले जनही बिगो ८० हजार कायम गरी मुद्दा दर्ता गरेको अख्तियारको कार्यालयले जानकारी दिएको छ ।
उनीहरूलाई भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजाय दाबी गरि बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।