नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा भ्रातृ संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताले नाराबाजी गरेका छन् ।
चावहिलस्थित पशुपति क्याम्पसमा भेला भएर मोटरसाइकल ¥यालीसहित पार्टी कार्यालय पुगेका नेविसंघका कार्यकर्ताले ‘असफल नेतृत्व चाहिँदैन, म्याद थप्न पाईदैन’ भन्दै नाराबाजी गरेका हुन् । नेविसंघको कार्यकाल सकिएपनि म्याद थपेको भन्दै उनीहरुले विरोध गरेका हुन् ।
काँग्रेस केन्द्रीय समिति बैठकका लागि शीर्ष नेताहरु कार्यालय पुग्नेवित्तिकै विद्यार्थीहरुले नाराबाजी सुरु गरेका थिए ।
आज बस्ने काँग्रेस केन्द्रीय समिति बैठकले सरकारविरुद्धको आन्दोलनको समीक्षा, संसद अबरोध, महासमिति बैठकका निर्णयहरूको कार्यान्वयन, नेपाल विद्यार्थी संघको म्याद थप लगायतका विषयमा छलफल हुनेछ । नेविसंघका अध्यक्ष नैनसिंह महरले तोकिएको समयमा जिम्मेवारी बहन गर्न नसकेको आरोप छ ।
नेपाली तरुण दलले सातै प्रदेशमा शुरु गरेको आन्दोलनको समीक्षा हुनेछ । कांग्रेसले आफ्ना भातृसंस्थाहरूलाई सरकारविरुद्ध केन्द्रित गराउँदै आएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।