काठमाडौं –प्रतिपक्षी दल काँग्रेसका नेता गगन थापाले सरकारले संसदलाई आफ्नो विभागीय कार्यालयका रुपमा प्रयोग गर्ने खोजेको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा भएको साक्षात्कारमा नेता थापाले सत्तारुढ पार्टीका संसद वा मन्त्रीको आदेश अनुरुप सभामुखले संसद चलाउन खोज्दा सार्वभौम संसद सरकारको विभागीय कार्यालय जस्तो बन्न लागेको बताएका हुन् ।
थापाले भने, ‘सरकारले संसदको सर्वोच्चतामाथि नै प्रहार गर्न खोज्दैछ । सत्तारुढ दलका सांसदले खुलामञ्च र चोक चौताराबाट संसद यसरी चल्छ भनेर फतवा जारी गरिरहेका छन् । उनीहरुको भनाइअनुसार सभामुख चल्दै जान खोज्नु भनेको सार्वभौम संसदको सर्वोच्चातामाथि प्रश्न उठ्ने देखिएको छ ।’
‘सभा चलाउने सभामुखले हो । सभामुख कसैको आदेश तामेली गर्ने वा अरुको आदेश मान्दै हिँड्ने हो भने संसदको सर्वोच्चतामै प्रश्न उब्जन्छ,’ थापाको भनाई छ । नेता थापाले प्रतिपक्षीलाई देखाइदिन्छु भन्ने सोचले सभामुख पनि सत्तापक्षको लहडमा लागे शुक्रबारको संसद बैठक अवरुद्ध गर्न काँग्रेस बाध्य हुने बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।