अनशनरत डा. गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न दबाब स्वरूप संसद् भवन बानेश्वर नजिक निषेधित क्षेत्र तोड्न पुगेका विवेकशील नेपाली दलका नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।
बानेश्वस्थित निषेधित क्षेत्रबाट विवेकशील नेपाली दलका संयोजक उज्वल थापासहित २५ जना नेता/कार्यकर्ता गिरफ्तार भएका हुन् । यसलाई उनीहरूले स्वैच्छिक गिरफ्तारी भनेका छन् ।
डाक्टर केसीको माग अनुसार चिकित्सा शिक्षा विधेयक नआएको भन्दै उनीहरूले विरोध जनाएका हुन् ।
चिकित्सा शिक्षा विधेयकमा सरकारले आफूसँग गरेका सहमति कार्यान्वयन नगरिएको भन्दै डाक्टर केसी अनशनरत छन् ।
तर संसद्बाट आजै चिकित्सा शिक्षा विधेयक पारित गर्ने सरकारी तयारी छ ।
अर्कै मुद्दालाई बहाना बनाएर प्रतिपक्षी कांग्रेसले सदन अवरुद्ध गर्दै आएपनि सत्ता पक्षले जुनसुकै हालतमा विधेयक पारित गर्ने रणनीति लिएपछि त्यसको विरोधमा संसद् भवन बाहिर प्रदर्शन गरिएको विवेकशील नेपाली दलले जनाएको छ ।
गिरफ्तार हुनेहरूमा विवेकशील नेपाली दलका संयोजक थापा सहित शशिविक्रम कार्की, अजिता राई, डा.दिनेश प्रसाईं, अम्बिका कार्की, सूजन श्रेष्ठ, रामजी पन्त, मिलन पाण्डे, सोनम थीमी लगायत छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।