काठमाडौँ । विवेकशील नेपाली दलले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति विपरित सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गरेको उल्लेख गर्दै शनिबार काठमाडौंमा विरोध प्रर्दशन गरेको छ।
माफियाको सर्वोच्चता कामय हुनेगरी डा. केसीसँग गरिएको सहमति विपरित सो विधेयक पारित गरिएको भन्दै विवेकशील नेपाली दलले शनिबार काठमाडौंको माईतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म -यालीसहितको विरोध प्रर्दशन गरेको हो।
गोविन्द केसीसँग गरिएको सहमति विपरित सरकारले माफियाको सर्वोच्चता हुनेगरी विधेयक पारित गरेपछि त्यसको विरोध गर्नु परेको दलका अध्यक्ष उज्वल थापाले जानकारी दिए।
प्रर्दशनका क्रममा दलका नेता/कार्यकर्ताले डा. केसीसँग गरिएको सहमति विपरित विधेयक पारित गरिएको भन्दै प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्दै चर्का नाराबाजी समेत गरेका थिए।
दलले संसदीय सर्वोच्चताको नाममा माफियाको सर्वोच्चता हुने गरी सो विधेयक पारित गरिएको उल्लेख गर्दै नागरिक सर्वोच्चता स्थापित गराउन सडक संघर्ष सुरु गरिएको पनि स्पष्ट पारेको छ।
अध्यक्ष थापाले सरकारले अनसनरत डा. केसीको माग सम्बोधन नगरेसम्म सडक संघर्ष जारी राख्ने चेतावनी पनि दिएका छन्।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।