अन्तर्राष्ट्रिय

चर्चमा विस्फोट : २७ जनाको मृत्यु

By थाहा अनलाइन

January 27, 2019

मनिला– फिलिपिन्सको दक्षिणी क्षेत्रमा अवस्थित एक चर्चमा आइतबार बिहान भएको विस्फोटनमा परी २७ जनाको मृत्यु भएको छ ।  फिलिपिन्सको राष्ट्रिय प्रहरीका प्रमुखले देशको दक्षिणी क्षेत्रमा पर्ने सुलु प्रान्तको चर्चमा आइतबार बिहान एकैसाथ दुईओटा विस्फोटन भएको जानकारी दिए ।

प्रहरी प्रमुख ओस्कार अल्बायाल्डेका अनुसार मृत्यु भएकामध्ये अधिकांश फिलिसिन्सका सैनिक रहेका छन् ।  उनले विस्फोटनमा परी अरु ७७ जना घाइते भएका र उनीहरुको उपचार भइरहेको पनि जानकारी दिएका छन् ।

दुवै विस्फोटन स्थानीय समयअनुसार विहान करिब ८.१५ बजेतिर दक्षिणी क्षेत्रको जोलो चर्चमा भएको बताइएको छ ।  उक्त चर्चमा एउटा बम बाहिर र अर्को चर्चभित्र गरी एक मिनेटको फरकमा ती दुई ओटा बम विस्फोटन भएको अल्बायाल्डेले बताए ।

यस दुर्घटनामा परेकाहरुमा अधिकांश नियमित रुपमा चर्च जाने गरेकाहरु रहेका पनि प्रहरीले जानकारी दिएको छ ।  ‘चर्चामा प्रार्थनाका बेला भएको विस्फोटनको हामी घोर भत्र्सना गर्दछौँ, सैन्य अधिकारीहरु र आम नागरिक मारिएका र घाइते भएका छन्, त्यो निकै दुःखद् छ,’ फिलिपिन्सका रक्षा सचिव डल्फीन लोरेन्जानले भने ।

उनले घटनाका पीडितहरुलाई तत्काल राहात तथा उद्धारका लागि सहयोग गर्न पनि निर्देशन दिइएको बताएका छन् ।  घाइतेमध्ये केहीको अवस्था चिन्तजनक रहेको र घटनाको विवरण सङ्कलन भइरहेकोले मृत्यु हुनेहरुको संख्या अझै बढ्नसक्ने अधिकारीहरुले जानकारी दिएका छन् । –सिन्ह्वा