काँग्रेसले प्रजातन्त्रको उपहास गरेको मेयर शाक्यको खुलासा



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासन्दुर शाक्यले संघीय संसद चल्न नदिएर प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रजातन्त्रको उपहास गरिरहेको टिप्पणी गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै अप्ठयारोमा पार्ने गरी जनमतको अपमान गर्ने काम काँग्रेसले गरिरहेको आरोप पनि मेयर शाक्यले लगाए ।

जनताबाट निर्वाचित भएर आएकाहरुलाई कामै गर्न नदिएर काँग्रेसले सहिदहरुले देखाएको बाटोमा समेत अवराध खडा गरिरहेको उनको दावी छ । आईतबार सहिद सप्ताह कार्यक्रम अन्तरगत सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गरेको काठमाडौंको सिफलमा आयोजित स्मृति सभामा बोल्दै उनले सहिदहरुको सपना पूरा गर्न र मुलुकलाई जनमत अनुसार अघि बढाउन जनताआफै अग्रसर हुने बेला आएको पनि स्पष्ट पारे । मेयर शाक्यले सहिदहरुले देखाएको बाटौबाटै अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे ।

मेयर शाक्यले निर्वाचनमा जित्नेलाई शासन गर्न दिएमात्रै सहिदहरुले देखाएको बाटोबाट मुलुकलाई अघि बढाउन सकिने पनि स्पष्ट पारे । वि.सं. १९९७ साल माघ १३ गते, काठमाडौंको सिफलमा रहेको बकाइनोको रुखमा झुण्ड्याएर धर्मभक्त माथेमालाई प्राणदण्ड दिइएको थियो । वि.सं. १९६६ साल आश्विन १ गते काठमाडौंको ओमबहालमा जन्मिएका माथेमालाई तत्कालीन जहाँनिया राणा शासकको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोप लगाई मृत्युदण्ड दिइएको थियो ।

तत्कालीन राणा प्रधानमन्त्री जुद्धशम्शेरले वि.सं.१९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिने निर्णय गरेका थिए । निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु, पचलीमा झुण्ड्याएर, ७ दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्