यौन मानवजीवनको अभिन्न अंग हो र स्वभाविक पनि । मानव मनमा यौनेच्छा एकदम स्वभाविक हो । भोक, निद्रा, प्यासजस्तै यौन पनि आवश्यक कुरा हो, मानवजीवनका लागि प्रकृतिले नै दिएको । यौनेच्छा तपाईंमा एकदमै छ भन्ने प्रस्ट छ ।
तपाईंले आफूले यौनसम्पर्कबाट आनन्द प्राप्त गर्न नसक्नुभएको उल्लेख गरे पनि त्यसका लागि प्रयास गरेको कुरा उल्लेख गर्नुभएको छ ।यौनेच्छा कसैमा बढी हुन्छ भने कसैमा कम । यो एउटै व्यक्तिमा पनि कहिले बढी र कहिले कम हुनसक्छ । तपाईंले श्रीमान्सँग यौनसम्पर्क गर्दा आनन्द नआएको र आफ्नो योनि खुकुलो भयो भन्ने मान्नुभएको देखिबाहेक अन्य जानकारी नदिनु भएकाले यसै भन्न सकिने स्थिति छैन ।
तपाईले आफ्ना श्रीमान्ले आफूबाट यौनआनन्द प्राप्त गर्नुभएको छ कि छैन भन्ने कुरा पनि लेख्नुभएको छैन तर पनि यसका केही पक्षलाई केलाऔं ।तपाईंले श्रीमान्सँगको सम्बन्धबाट यौन चरमसुख नपाएको कुरा गर्नुभएको छ । कुनै पनि व्यक्तिले यौन चरमसुख पाउने कुराले उसको शारीरिक पक्षका साथै मानसिक पक्षसँग अन्तरंग सम्बन्ध राख्छ ।
यसका लागि कुनै पनि व्यक्ति मानसिक रूपमै तयार हुनु जरुरी छ र उत्तेजनाको सन्देश उसले शारीरिक रूपमा प्राप्त गर्न बाह्य कुराले सहयोग गर्ने हो । यस अर्थमा अर्को व्यक्तिले यौन चरमसुख पाउने–नपाउने कुराको जिम्मा लिन वा ग्यारेन्टी गर्न सक्ँदैन, सहयोग मात्र गर्न सक्ने हो ।
यौन चरमसुख पाउने त आफैंले हो ।तपाईंलाई पक्कै पनि थाहा हुनुपर्छ, महिलाको सबैभन्दा बढी यौन संवेदनशील अंग भगांकुर हो । प्राय:जसो महिलाले यही अंगको घर्षणबाटै यौन सन्तुष्टि प्राप्त गर्छन् ।महिला तल र पुरुष माथि भएर गरिने यौनसम्पर्कमा सामान्यत: लिंगले भगांकुरलाई घर्षण गर्दैन । भगांकुर चलाउन औंला नै बढी सहयोगी सावित हुन सक्छ भने अर्कातिर आसन परिवर्तन अर्थात् महिला माथि रहेर गरिने यौन आसन बढी प्रभावकारी हुनसक्छ ।
अर्को बुझ्नुपर्ने कुरा के हो भने महिलाको योनिको बाहिरी (योनिद्वारनेरको) भाग यौन संवेदनशील हुन्छ, न कि भित्री भाग । सानै भए पनि लिंगले भने योनिको बाहिरी भाग घर्षण गर्न सहयोग गर्छ । तपाईंले श्रीमान्सँगबाट यौन चरमसुख प्राप्त गर्न नसक्नुमा कतै मानसिक पक्ष नै कारक हो कि भन्ने विषयमा पनि विचार गर्नुपर्छ ।
योनिलाई कसरी कसिलो बनाउने ? तपाईंले योनि ठूलो भएको कुरा गर्नुभएको छ, सम्भवत: तपाईंले योनि खुकुलो भयो भनेर लेख्न खोज्नुभएको होला भनेर, त्यसैअनुरूप जवाफ दिने प्रयास गरेको छु ।समाधानका लागि यौनसम्पर्क गरिने आसनमा विभिन्नता ल्याएर यसमा सुधार ल्याउन सकिन्छ ।
योनि खुकुलो लागेको स्थितिमा विशेष गरेर जाँघ फैलाइएको स्थितिभन्दा नजिक ल्याइएको स्थिति सहयोगी हुन सक्छ । लिंगलाई ठूलो वा लामो बनाउने विभिन्न उपाय प्रयोग गरिएको पाइन्छ । तपाईंले श्रीमान्को लिंग ठूलो भएको कुरा गर्नुभएको छ, त्यसैले यस विषयमा चर्चा गर्नु मनासिब लागेन ।अब योनिको खुकुलोपनका बारेमा केही कुरा भनौं । योनि मांसपेशीले बनेको एकदमै तन्किन सक्ने गुण भएको नली आकारको अंग हो ।
एकछिन विचार गर्नुहोस् त, कुनै ठूलो आकारको कुरा मुखमा हालियो भन्दैमा त्यो सधंै खुकुलो भएर सानो कुरा च्याप्नै नसक्ने गरेर खुकुुलो हुन्छ र ? पक्कै हुँदैन । यद्यपि योनिको मांसपेशी कसिलो बनाउने विभिन्न उपाय पनि छन् ।यौनांग क्षेत्रको मांसपेशीलाई बलियो बनाउन गरिने कसरतलाई केगेल (Kegel) कसरत भनिन्छ । योनिमा औंला पसाई औंलालाई अँठयाउँदा अर्थात् खुम्च्याउँदा यो मांसपेशीलाई तपार्इंले महसुस गर्न सक्नु हुन्छ ।यो मांसपेशीलाई पहिचान गरेपछि औंला नपसाई पनि खुम्च्याउन सकिन्छ ।
सुरुमा यस्तै १ सेकेन्डसम्म बेस्सरी खुम्च्याएर राख्ने र छाड्ने अर्थात् खुकुलो बनाउने । बिस्तारै यसलाई बढाएर ५ सेकेन्डसम्म पुर्याउनुपर्छ ।बिस्तारै १० देखि १५ पटकसम्म संकुचित गर्ने (खुम्च्याउने) र छोड्ने । यो क्रम बढाउँदै दिनभरिमा यस्तो गर्ने क्रम २० पल्टसम्म पुर्याउनुपर्छ । यसरी ६ हप्तासम्म नियमित रूपमा कसरत गरे थाहा पाइने गरी केही फरक देखिन्छ ।यो मांसपेशी संकुचित गरेर यौनसम्पर्कका बेला लिंगलाई बेस्सरी समात्न प्रयोग गर्न सकिन्छ ।
यसले तपाईंलाई मात्र होइन, तपाईंको श्रीमान्लाई पनि यौनसुख प्राप्त गर्न मद्दत गर्छ ।थप केही जानकारी दिउँ भनेर योनि कसिलो बनाउने अन्य उपायका बारेमा पनि चर्चा गर्दैछु । निश्चित तौलका योनि कोन (भजाईनल कोन, vaginal cone) महिलाको योनिमा राखेर त्यसलाई अड्याइराख्न भनिन्छ, जसले गर्दा यौनांग मांसपेशी बलियो होस् ।त्यसगरी विद्युतीय उत्तेजना (electric stimulation) अर्थात् योनिमा एक किसिमको यन्त्र (probe) राखेर विद्युत्को हल्का करेन्ट प्रयोग गरेर यौनांग क्षेत्र (pelvic floor) को मांसपेशीलाई खुम्चन र खुकुलो हुन उत्तेजित पारिन्छ ।
Neocontrol व्यापारिक नाम भएको साधन एक विशेष किसिमको कुर्सी हो ।यसमा विशेष किसिमले चुम्बकीय क्षेत्र प्रयोग गरेर यौनांगको मांसपेशीलाई उत्तेजित पारिन्छ । यो उपचार सामान्यत: २० देखि ३० मिनेटका लागि हप्ताको दुईपटक यस्तै आठ हप्ताजति गरिन्छ ।अन्त्यमा योनि खुकुलोपनको समस्या अति नै छ भने vaginoplasty (भजाइनोप्लास्टी) शल्य चिकित्सा पनि गराउनुपर्ने हुनसक्छ ।
यस्तो शल्य चिकित्सालाई सामान्यत: अन्तिम उपायका रूपमा लिइन्छ । अचेल त लेजर प्रविधिको प्रयोग पनि प्रारम्भ हुन थालेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।