चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभामा पेश



काठमाडौँ, १४ माघ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ राष्ट्रियसभामा पेश गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधकाबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका हुन् ।

काँग्रेसको अवरोधबीच पहिलोपटक १५ मिनेटका लागि बैठक स्थगित गरिएको थियो । त्यसपछि आधा घण्टाका लागि बैठक स्थगित भएको थियो । तेस्रो पटक बसेको बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न मन्त्री पोखरेललाई अनुमति दिएका थिए ।

काँग्रेस सांसदहरुले मन्त्री पोखरेललाई रोक्न खोजेपनि मर्यादापालकहरुले उनलाई रोष्ट्रमसम्म पुर्याएका थिए । मन्त्री पोखरेलले प्रस्ताव पेश गरेपछि अध्यक्ष तिमिल्सिनाले छलफल अघि बढाएका थिए । छलफलमा कुनै पनि सदस्यहरुले भाग लिएनन् । काँग्रेसको नाराबाजी चलिरहेकाले सत्तापक्षका सांसदहरुले पनि भाग लिएनन् ।

कुनै पनि सदस्यले छलफलमा भाग नलिएपछि अध्यक्ष तिमिल्सिनाले प्रस्तावलाई निर्णयार्थ पेश गरेका थिए । सत्तापक्षका सांसदहरुले हुन्छ भन्ने पक्षमा आवाज उठाएपनि प्रतिपक्षका सांसदहरुले हुन्न भन्ने पक्षमा बोलेनन्, त्यसपछि अध्यक्ष तिमिल्सिनाले प्रस्तावलाई सर्वसम्मत स्वीकृत भएको घोषणा गरे । त्यसअघि उनले सचिवालयका सदस्यहरुसँग राय लिएका थिए ।

‘हुन्न भन्ने आवाज सुनिएन, तसर्थ राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ माथि बिचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु’, सचिवालयका सदस्यहरुसँग राय लिएपछि अध्यक्ष तिमिल्सिनाले भने ।

साथै उनले चिकित्सा शिक्षा विधेयकमा संशोधन हाल्न चाहानेहरुलाई राष्ट्रियसभा अन्र्तगतको विधेयक शाखा सिंहदरबारमा संशोधन प्रस्ताव दर्ता गर्न सक्ने जानकारी गराउँदै आउँदो १७ गते बिहीबार दिउँसो २ बजे बस्ने गरि स्थगित गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्