मेलम्ची आयोजनाको काम पूरा नगरेको भन्दै सरकारको चर्काे आलोचना



काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको बाँकी काम पूरा गर्न गम्भीर नभएको उल्लेख गर्दै सरकारको चर्को आलोचना गरेका छन् ।

संघीय संसदको विकास तथा प्रविधि समितिको सोमबारको बैठकमा समितिका सदस्य गणेशकुमार पहाडीले सरकार मेलम्ची खानेपानी आयोजनाको बाँकि काम पूरा गर्न गम्भिर नभएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

उनले सरकारकै कारण इटालियन ठेकेदार कम्पनी सिएमसी काम छाडेर भागेको होकि भन्ने आशंका जन्मिएको पनि बताए । सांसद पहाडीले हचुवाको भरमा मेलम्चीको पानी दसैं अघि नै आउने भनि झुट प्रतिवद्धता जनतासामू व्यक्त गरेको भन्दै खानेपानी मन्त्रालयका सचिव गजेन्द्रप्रसाद ठाकुरप्रति आक्रोश पनि व्यक्त गरे ।

समितिका अर्का सदस्य बहादुरसिंह लामाले पाँच करोड कमिशन मागेपछि सिएमसी कम्पनी सो आयोजनाको कामै छोडेर हिँडेको समाचार आइरहेको भन्दै त्यसको जवाफ दिन पनि सरकारसँग माग गरे ।

उनले कर्मचारीहरुको कमजोरीका कारण पनि मेलम्ची खानेपानी आयोजनाको काम समयमै सम्पन्न हुन नसकेको पनि स्पष्ट पारे । समितिका सदस्य जीपछिरिङ लामाले मेलम्ची खानेपानी आयोजनाको काम स्वदेशी निर्माण कम्पनीबाटै गराउन सरकारलाई सचेत गराए ।

उनले सिएमसी कम्पनीलाई काम लगाउन नसकेकोमा भन्दै सरकारको चर्को आलोचना पनि गरे । समितिका सदस्यहरुले मेलम्ची खानेपानी आयोजनाबारे सरकार आफैले गलत सूचना दिने गरेको भन्दै आक्रोश पनि व्यक्त गरेका थिए । समितिकी सदस्य कमला रोकाले सो आयोजनाबारे किन गलत सूचना दिएर जनतालाई ढाँटेको भनि सरकारसँग प्रश्न गरे ।

बैठकमा खानेपानी मन्त्रालयका सचिव ठाकुरले मेलम्ची खानेपानी आयोजनाको काममा अव ढिलाई नहुने प्रतिवद्धता दोहो¥याए । उनले सो आयोजनाको कामलाई अघि बढाउन स्वदेशी निर्माण कम्पनीलाई परिचालन गरेर अघि बढने तयारी भइरहेको पनि समितिलाई जानकारी गराए ।

सरकारले सिएमसी कम्पनीबारे ठोस निर्णय लिन १४ दिने सूचना जारी गरिसकेको र १४ दिन भित्र सो कम्पनी सम्पर्कमा नआए ऊसँगको ठेक्का सम्झौता रद्ध हुने र स्वदेशी निर्माण कम्पनीलाई परिचालन गरेर सो आयोजनाको बाँकि काम पूरा गर्ने योजना पनि सचिव ठाकुरले समितिलाई जानकारी गराए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्