आज शहीद दिवस



काठमाडौँ, माघ १६ । प्रजान्त्रका लागि प्राण आहुती दिने वीर शहीदप्रति श्रद्धा सुमन व्यक्त गर्दै सधैँझैँ यो वर्ष पनि आज (माघ १६ गते) शहीद दिवस मनाइँदैछ ।

कठोर र निरङ्कुश राणा शासनविरुद्ध क्रान्ति गर्ने वीर शहीद शुक्रराज जोशी शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई मृत्यदण्ड दिएपछि यिनै चार शहीदप्रति श्रद्धा सुमन व्यक्त गर्दै मुलुकभर सप्ताहका रूपमा शहीद दिवस मनाउन शुरु गरिएको हो ।

वि.सं १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई टेकू दोभानमा, १२ गते धर्मभक्त माथेमालाई सिफलमा, माघ १४ गते गङ्गालाल र दशरथलाई शोभा भगवती घोडेनागस्थित भचाखुसीमा मृत्युदण्ड दिइएको थियो ।

क्रान्तिमा नवयुवकलाई भड्काएर देशमा विद्रोह फैलाएको अभियोगमा टङ्कप्रसाद आचार्य र रामहरि शर्मालाई चारपाटा कपाल मुडेर वन्दी बनाइएको थियो । यो घटनापछि कारागारमै शहीद दिवस मनाउन थालिएको थियो तर त्यो समाचार पनि प्रजातन्त्र स्थापना भएपछि मात्र सार्वजनिक भयो ।

२००८ साल असारमा गोरखापत्रमा प्रकाशित समाचार अनुसार आचार्य र शर्माले कारागारमै शहीद दिवस मनाउन थाल्नुभयो । पछि वि.सं २०११ सालसम्म नेपालको पहिलो राजनीतिक दल प्रजापरिषद्ले शहीद सप्ताह मनाएको थियो । त्यसअघि २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको हर्ष उल्लासमा वि.सं २००९ सालमा तत्कालीन राजा त्रिभुवनको अध्यक्षतामा शहीद सप्ताह मनाइएको थियो ।

वरिष्ठ पत्रकार भैरव रिसालका अनुसार राजा महेन्द्रको २०१७ साल पुस १ गतेको कदम अघिसम्म हर्ष उल्लाससाथ शहीद दिवस मनाइन्थ्यो । वि.सं. २०१७ सालपछि दलमाथि प्रतिवन्ध लगाइएपछि शहीद सप्ताह ओझेलमा प¥यो, उमङ्गका साथ मनाउन नै छोडियो । सार र वास्ना नभएको खल्लो रूपमा यो दिवस मनाइयो । काठमाडौँ नगरपालिका तहमा मनाइने शहीद दिवस २०४६ पछि भने हर्षोल्लासका साथ मनाउन थालियो ।

शहीद दिवसमा विदा दिने प्रचलन भए पनि हटाइयो तर यो वर्ष प्रदेश– ३ सरकारले शहीद दिवस मनाउन सार्वजनिक विदाको घोषणा गरेको सभासद् नरोत्तम वैद्य बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,‘‘ शहीदकै बलिदानले प्रजातन्त्र आएको हो, अज्ञात शहीदप्रति आभार व्यक्त गर्न कोही कहिल्यै नचुकौँ । तर वरिष्ठ पत्रकार रिसाल भने सरकारमा बस्नेले मात्र शहीद दिवस मनाएजस्तो भएको छ , जनस्तरमा भिजेको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्