श्रीमती हत्या आरोपमा परेका थुनुवाले गरे, कारागार भित्रै आत्महत्या



दोलखा । श्रीमती हत्या आरोपमा मंगलबार पूर्पक्षका लागि थुनामा पठाएका कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ लापिलाङका २४ वर्षीय च्याङा शेर्पाले कारागारको शौचालयको झ्यालमा झुण्डिएर आत्महत्या गरेका छन् । झुण्डिनका लागी उनले जुत्ताको लेसको प्रयोग गरेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वासुदेव पाठकले जानकारी दिएका छन् ।

मंगलबार साँझ ५ बजे कारागार पुगेका शेर्पा करिब साढे १२ बजे पेट दुख्यो भनि कारागारको भित्री शौचालय गएका थिए । शौचालय गएका शेर्पा १० मिनेटसम्म पनि नफर्किए पछि बाहिरी गेटको माध्यमबाट हेर्दा मृत अवस्थामा फेला परेको जिल्ला कारागार दोलखाका प्रमुख मित्रबन्धु तिवारीले जानकारी दिएका छन् ।

शेर्पाकी श्रीमती लक्की भनिने सर्किनी शेर्पा पुस १६ गते चरिकोटस्थित आफ्नै कोठामा सलको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । श्रीमती हत्या गरेको आरोपमा शेर्पालाई दोलखा प्रहरीले पुष २० गते पक्राउ गरेको थियो ।

पक्राउ पछि २४ दिन प्रहरी हिरासतमा रहेका उनलाई मंगलबार मात्रै दोलखा जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाएको थियो । मृतक शेर्पाको शवलाई पोष्टमार्टमका लागि चरिकोटमा रहेको शव गृहमा राखिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्