अन्तर्राष्ट्रिय

प्रधानमन्त्रीको राजीनामा स्वीकृत

By थाहा अनलाइन

January 30, 2019

प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले प्रधानमन्त्री रामी हम्दल्लाहले दिएको राजीनामा स्वीकृत गरेका छन् । राष्ट्रपति अब्बासद्वारा मङ्गलबार प्रधानमन्त्री हम्दल्लाहको राजीनामा स्वीकृत गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख छ ।

प्यालेस्टिनी सरकारी समाचार संस्था वाफाका अनुसार अर्को सरकार नबन्दासम्म यही सरकारले काम गर्नेगरी उनले राजीनामा स्वीकृत गरेका छन् । राष्ट्रपति अब्बासले नयाँ सरकार बनाउनका लागि चाँडै प्रक्रिया सुरु गर्नुहुने पनि समाचारमा जनाइएको छ ।

प्रधानमन्त्रीको राजीनामासँगै प्यालेस्टाइन क्षेत्रमा संसदीय निर्वाचनका लागि नयाँ सरकार गठन गर्नुपर्ने स्थिति उत्पन्न भएको छ । प्यालेस्टाइनमा सन् २००६ को जनवरीमा पछिल्लो संसदीय निर्वाचन भएको थियो । त्यतिबेलाको निर्वाचनमा इस्लामिक समूह हमासले अत्यधिक बहुमत ल्याएको थियो ।

प्रधानमन्त्री हम्दल्लाहले रमल्लाहमा मङ्गलबार बसेको मन्त्रिपरिषद्को साप्ताहिक बैठकपछि राजीनामा दिने निर्णय लिएका थिए ।

उनले लामो समयदेखि हमास समूहभित्र उत्पन्न आन्तरिक विभाजन अन्त्य गर्ने र मेलमिलापको वातावरण बनाउने उद्देश्यले राजीनामा दिएको बताएका छन् ।

साठी वर्षीय हम्दल्लाह सन् २०१३ मा पहिलोपटक प्यालेस्टाइनको प्रधानमन्त्री बनेका थिए ।

सन् २०१४ मा राष्ट्रपति अब्बासले हम्दल्लाहको सरकारलाई ‘राष्ट्रिय मेलमिलाप सरकार’ को रुपमा मान्यता दिई प्यालेस्टिनी समूहहरुबीच मेलमिलापको वातावरण निर्माण गर्ने जिम्मेवारी दिएका थिए ।–सिन्ह्वा