गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला घोषणा



धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ । बुधबार राष्ट्रिय सभा गृहमा एक कार्यक्रम आयोजना गरी रंगशाला बनाउने घोषणा गरेको हो ।

२० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाका लागि तीन अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । डिपीआर पछि ६ महिनामा अझ घट्न सक्ने बताइएको छ । फाउन्डेसन र भरतपुर महानगरपालिका बीच घोषणा तथा सहमति पत्रमा हस्ताक्षर भएको छ ।

फाउन्डेसनकी उपाध्यक्ष कुञ्जना घिमिरेले फाउन्डेसनले गरेका अघिल्ला काम जस्तो सजिलो नभएको बताइन् । सबैको साथ र सहयोगमा सम्भव रहेको र यो एउटा राष्ट्रिय गौरवको आयोजना बन्ने उनले बताइन् ।

रंगशाला बनाउनका लागि विभिन्न व्यक्ति, व्यवसायिक तर्फबाट एस ट्राभल्सले तीन करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । त्यस्तै अल्का अस्पतालले २५ लाख, रविराज सिंहले ११ लाख , मुक्तिनाथ विकास बैंकले ५ लाख सहयोग गर्ने घोषणा गरेको छ । क्रिकेट स्टेडियमका लागि सहयोग जुट्ने क्रम जारी छ ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले फाउन्डेसनको खोजी र महानगरको चाहाना मिल्न गएकाले पनि अब चाँडै यो अभियानमा लाग्ने बताइन् । दुई वर्ष भित्र रंगशाला निर्माण गरिसक्ने बताउँदै दाहालले यो अभियानका लागि महानगरले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाईन् ।

घोषणा  तथा सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा फाउन्डेसनका सिताराम कट्टेल, कुञ्जना घिमिरे, प्रधानमन्त्री केपी ओली, कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहल (प्रचण्ड), कलाकार मदनकृष्ण श्रेष्ठ, कांग्रेस नेता शशांक कोइराला, सांसद, कलाकार, व्यवसायीलगायतको सहभागिता रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्