राम्रा कुरा पनि त भाइरल बनाउन सकिन्छ-मन्त्री अर्याल



पोखरा । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले समाजका राम्रा काम र समाचारलाई पनि भाइरल बनाउन पत्रकारहरुलाई आग्रह गरेकी छिन् ।

पोखरामा आयोजित राष्ट्रिय सहकारी नीति पुनरावलोकन सम्बन्धि कार्यशाला बोल्दै मन्त्री अर्यालले भनिन्, ‘हामीकहाँ गाली गरेपछि, विरोध गरेपछि वा नराम्रो कुराको समाचार लेखेपछि मात्रै समाचार भाइरल बनाउन सकिन्छ भन्ने गलत मानसिकता छ । राम्रा कुरालाई पनि भाइरल बनाउन सकिन्छ, तपाईहरु त्यो हिम्मत गर्नुस् ।’

‘सधै नकारात्मक कुरा मात्र लेख्दा जनतामा निरासा पैदा हुन्छ, समाजमा वितृष्णा पैदा हुन्छ’ अर्यालले भनिन्, ‘त्यसले तपाई हामी कसैको पनि हित गर्दैन । नकारात्मक कुराले समाजलाई विचलनतिर लैजान्छ । हाम्रा सन्ततिका लागि पनि त्यसले राम्रो शिक्षा र सन्देश दिँदैन । यस्ता विषयमा पनि तपाईहरुले विचार गर्न आवश्यक छ ।’

तथ्यमा आधारित भएर कलम चलाउन उनले पत्रकारलाई आग्रह गरिन् । मन्त्री अर्यालले भनिन्, ‘मैले कसैको आलोचना नगर्नुस् भनेको छैन । बिगारेको छु, गल्ती गरेको छु भने मेरो पनि आलोचना गर्नुस्, तपाईहरुको आलोचना र खवरदारी चाहिन्छ । तर, हल्लाको भरमा समाचार नलेख्नुस्, तथ्य खोजेर, केलाएर आलोचना गर्नुस्, त्यसले तपाईहरुकै हैसियत उच्च हुन्छ ।’

मन्त्री अर्यालले सरकारले राम्रो काम गर्न खोजे पनि परिणाम आउन समय लाग्ने बताइन् । उनले भनिन्, ‘संघीयता हाम्रा लागि नयाँ अभ्यास हो, नयाँ अभ्यासमा केही गल्ती हुन्छन् । तर, नियतवश गरिने गल्तीमा खवरदारी गर्नुस् । हामीले कहिले कर्मचारी समायोजन त कहिले संरचना टुंगाउने झमेलामा अल्झियौं, अब सरकारले गति लिन्छ । केही समयमा परिणाम देखिन्छ ।’

मन्त्री अर्यालले पत्रकारहरुका समाजका बौद्धिक र विज्ञ समूह भएको बताइन् । उनले थपिन्, ‘तपाईहरुले देशको राजनीति, अर्थतन्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध, कृषि, सहकारी, भूमि, जलस्रोत लगायतका सबै विषयमा चासो राख्नुहुन्छ, सबै विषयमा कलम चलाउनुहुन्छ, त्यो विज्ञता हाम्रा लागि उपयोगी छ । सहकारी नीति परिमार्जनमा पनि तपाईहरुका गहन सुझावको अपेक्षा गरेका छौं ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्