काँग्रेसद्वारा आजपनि संसद अवरुद्ध



काठमाडौं– नेपाली काँग्रेसले आज पनि संसद बैठक अवरुद्ध गरेको छ । बैठकको सुरुमै काँग्रेस सांसदहरु उठेपछि सभामुख कृष्ण बहादुर महराले सांसद मिनेन्द्र रिजाललाई बोल्न समय दिएका थिए ।

सभामुखले समय दिएपछि सांसद रिजालले काँग्रेस नेताका नामका अस्पताल, गोविन्द केसीको अनसन लगायतका विषयमा सहमतिबाट सरकार अघि बढ्ने प्रतिवद्धता नजनाएसम्म संसद बैठक अघि बढ्न नसक्ने घोषणा गरेका थिए । उनले बोलिसकेलगत्तै काँग्रेस सांसदहरु उठेर विरोध गरेका थिए ।

तर, सभामुख कृष्ण बहादुर महराले काँग्रेस नेताका नामका अस्पतालबारे सरकारले माग बमोजिम निर्णय गरिसकेको भन्दै बस्न आग्रह गर्दै खुशी मनाउन आग्रह गरेका  थिए ।

त्यस्तै उनले चिकित्सा शिक्षा विधेयक पास भइसकेकाले त्यस विषयलाई लिएर संसद अवरुद्ध गर्न जरुरी नभएको बताएका थिए ।

सभामुखले पटकपटक काँग्रेस सांसदहरुलाई बस्न आग्रह गरेपनि नमानेपछि सभामुख महरालो अर्को बैठक माघ २० गतेसम्मका लागि स्थगित गरेको घोषणा गरे ।

यसअघि सांसद रिजालले सरकारका कामकारवाही सन्तोष जनक नभएको भन्दै चिकित्सा शिक्षा विधेयक गलत तरिकाले प्रतिनिधिसभाबाट पास गरेर ठिक नगरेको धारणा राखे । उनले सरकार संविधान र लोकतान्त्रिक मूल्य मान्यताविपरित हिँडेको आरोप समेत लगाए ।

उनले लोकतन्त्र विधिको शासन भएको भन्दै विधिलाई कुल्चने बाटोमा सरकारलाई नलाग्न आग्रह पनि गरे । चिकित्सा शिक्षा विधेयक दुई तिहाइको बलमा जर्वजस्ती पास गरेर सत्याग्रहीमाथि अन्याय गरेको भन्दै रिजालले विधेयक पारित, संवैधानिक परिषदको नियुक्तिलगायतका निर्णयहरु लोकतान्त्रिक प्रकृयाअनुसार नभएको भन्दै सरकारको चर्को आलोचना गरे ।

उनले सरकारका प्रधानमन्त्री आफैं आफ्नो अनुहार हेरर दङ्ग पर्ने गरेको भन्दै  दुई तिहाइको दम्भमा सरकार अघि बढे काँग्रेस चुप लागेर बस्न नसक्ने चेतावनी दिए ।

उनले सभामुखको व्यवहारको पनि आलोचना गरे । सभा सञ्चालन सत्ता र प्रतिपक्षको सहमतिमा हुनुपर्नेमा त्यसो नगरिएको भन्दै उनले सभामुखको ध्यानाकर्षण गराए ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्