राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पारित



काठमाडौं– प्रमुख प्रतिपक्षी दलको विरोधका बाबजुत राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त राष्ट्रिय  चिकित्सा शिक्षा विधेयक २०७५ लाई पारित गरेको छ ।  विहिबार बसेको राष्ट्रियसभाको बैठकले प्रतिपक्षी दल नेपाली काँग्रेसका सदस्यले उठेर विरोध जनाइरहेकै बेला बहुमतको आधारमा विधेयक पारित गरेको हो ।

अनसनरत डाक्टर गोविन्द केसीसँग सरकारले गरेको सम्झौता कार्यान्वयनको माग गर्दै नेपाली काँग्रेसका सांसदहरुले उठेर विरोध गरेका थिए ।

बैठकको सुरुमै सभाअध्यक्षको अनुमति लिएर बोलेका सांसद जितेन्द्रनारायण देवले डाक्टर गोविन्द केसीसँगको सहमति कार्यान्वयन नभएसम्म सदनको कारवाही अघि नबढाइयोस् भनि सभाध्यक्षको ध्यानाकर्षण गराएका थिए । सरकार आफैले गरेको सम्झौता कार्यान्वयन नहुँदा जनतामा नकारात्मक सन्देश जाने भएकाले आफैंले गरेको सहमति, सम्झौता पालनामा नैतिकता देखाउन उनले सरकारको ध्यानाकर्षण गराए ।

डाक्टर गोविन्द केसीको माग सम्बोधन भएन भने मुलुकमा राजनैतिक दुर्घटना हुन सक्ने खतरा रहेको भन्दै परिस्थितिलाई गंम्भीर ढंगले बुझ्न र वार्ता टोली गठन गरि समस्याको निकास निकाल्न र त्यसको नेतृत्व प्रधानमन्त्रीले आफैले गर्न पनि उनले माग गरे ।

सम्झौता कार्यान्वनय नभएको भन्दै गोविन्द केसी फेरि अनसन बस्नुपर्ने अवस्था श्रृजना हुनुले कुनै विद्रोही पक्ष र कुनै क्रान्तिकारी र राजनीतिक शक्तिसँग गरेको सम्झौता लागु गर्ने कि नगर्ने ? भन्ने वैचारिक र सैद्धान्तिक प्रश्न नेपाली राजनीतिमा बारम्बार दोहोरिने गरेको भन्दै उनले सरकारलाई आफैले गरेको सहमति कार्यान्वयनमा गम्भीर बन्न आग्रह गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्