मुख्य समाचार

अनसनरत डा। गोविन्द केसीको स्वास्थ्य अवस्था निकै खराब हुदै

By थाहा अनलाइन

August 15, 2017

सैघाली खबर

काठमाडौं, ३१ साउन ।– स्वास्थ्य अवस्था निकै खराब भए पनि डा। गोविन्द केसीले आइसियुमा उपचार गराउन नमान्दा उहाँको ज्यान जोखिममा परेको छ ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै २३ दिनदेखि आमरण अनसन बसेका डा। केसीको छातीको दुखाइ बढेपछि उपचारमा संलग्न चिकित्सकले आइसीयुमा लैजाने तयारी गरे पनि डा। केसी नमान्दा जोखिम बढेको हो । डा। केसीलाई सास फेर्नसमेत गाह्रो भइरहेको, शरीरमा चिनीको मात्रा, इलेक्ट्रोलाइट र रगतमा सेतो रक्त कोषको संख्यासमेत सामान्य स्तरभन्दा निकै तल झरेको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

डा। केसीका प्रतिनिधि डा। अभिषेकराज सिंहले सरकारी वार्ता समिति बनेको २० दिन भएपनि अहिलेसम्म सम्म ८ पटक वार्ता मात्र भएको बताउनुभयो । सरकारी वार्ता समितिले चिकित्सा शिक्षा ऐन मात्र नभई अन्य विषयमा समेत छलफल प्रयास नगरेको उहाँले आरोप लगाउनुभयो ।

डा। केसीले चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनमा बसेको यो ११ पटक हो । उस्तै मागका लागि यसअघि दस पटक गरी एक सय ४० दिन अनसन बसिसकेका डा। केसीको ११ औं अनसन अहिलेसम्मकै लामो भएको छ । उहाँको १० औं अनसन २२ औं दिनमा तोडिएको थियो ।