नेपालसँगको खेलमा युएई ४ विकेटले पराजित



काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) बिरुद्धको दोस्रो टी–२० खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको छ । जीतका लागि १ सय ८ रनको लक्ष्य पाएको नेपालले १९.३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्यायो ।

दुबईस्थित आइसीसी ग्लोबल क्रिकेट एकाडेमी मैदानमा आयोजित निकै रोमाञ्चक खेलको अन्तिम ओभरमा नेपाललाई जीतका लागि ७ रन आवश्यक रहेको थियो । तर, पहिलो बलमा नै १८ रन बनाएका पवन सर्राफलाई गुमायो ।

यद्यपि, दीपेन्द्र सिंह ऐरीले छक्का र चौका हिर्काउँदै नेपाललाई जीत दिलाए । उनले नटआउट रहँदै सर्वाधिक ४७ रन बनाए । यस क्रममा उनले ४ चौका र १ छक्का हिर्काए ।

करण केसीले २० रनको योगदान दिए । योसँगै शृङ्खला १–१ को बराबरी भएको छ । यसअघि, टस जितेर पहिलो ब्याटिङ गरेको संयुक्त अरब इमिरेट्स ९युएई० ले नेपाल सामु १ सय ८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

१९।२ ओभरमा अलआउट हुँदै युएईले १ सय ७ रन बनायो । युएईको शुरुवात राम्रो हुन सकेन । पहिलो ओभरमा नै सोमपाल कामीको बलमा अस्फाक अहमद ४ रन बनाएर पभिलियन फर्कन बाध्य बने । सोमपालले गुलाम सब्बरलाई तेस्रो ओभरमा आफ्नो दोस्रो शिकार बनाए ।

ओपनर चुन्डाङ्गापोयिल रिजवानले युएईको खेल सम्हाल्ने प्रयास गरे पनि नेपालले नियमित रुपमा युएईको विकेट लिइरह्यो । नेपालका अविनाश बोहराले सर्वाधिक ३ तथा सोमपाल कामी, सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए । ४ ओभर बलिङ गरेका बोहराले मात्र २० रन खर्चिए । त्यस्तै, सन्दीपले आफ्नो निर्धारित ४ ओभरमा १९ तथा सोमपालले १५ रन मात्र खर्चिए ।

बोहराको बलमा आउट हुनअघि युएईका लागि रिजवानले सर्वाधिक ४४ रन बनाए । यस क्रममा उनले ४ चौका र १ छक्का हिर्काए । त्यस्तै, सइमान अनवरले १४ तथा मोहमद बुटाले ११ रनको योगदान दिए ।

आजको खेलमा नेपालले टोलीका नियमित दुई खेलाडी परिवर्तन गरेको थियो । वसन्त रेग्मी र रोहितकुमार पौडेललाई आराम दिइएको थियो । उनीहरुको स्थानमा पवन सर्राफ र ललित नारायण राजवंशीलाई मौका दिइएको थियो ।

पवनले राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय टी–२० मा डेब्यु गरेका छन् । ललितले यसअघि नेदरल्यान्ड्सविरुद्धको खेलमा डेब्यु गरेका थिए । यूएई विरुद्धको एकदिवसीय सिरिज २–१ ले जितेको नेपालले टी–२० को पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्