बाँकेमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान शिलान्यास



बाँकेको कर्णाली भनेर चिनिने नरैनापुर गाउँपालिका–२ को अलिनगरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका लागि शिलान्यास गरिएको छ ।

प्रदेश ५ सरकारको एक स्थानीय तह एक रंगशाला निर्माण गर्ने योजनाअनुसार नरैनापुरमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक रंगशाला निर्माणका लागि प्रदेश सभा सांसद कृष्ण केसी नमुना, संविधान सभा सदस्य दिनेशचन्द्र यादव र गाउँपालिका अध्यक्ष मो इस्तियाक अहमद शाहले बिहीबार शिलान्यास गरेका हुन् ।

रंगशालाको शिलान्यास गर्दै प्रदेश सांसद नमुनाले रंगशाला निर्माणपछि बाँकेको नरैनापुरको परिचय नै बदलिने दाबी गरिन् । ‘सुगम जिल्लाको अत्यन्त विकट क्षेत्र भन्दै नरैनापुरलाई विकासमा पछि परेको ठाउँ भनेर चिनिने दिन अब इतिहासमै सीमित हुनेछन्,’ उनले भनिन् । १ अर्ब ८ करोड ५४ लाखको लागतमा ७ दशमलव १ बिघा क्षेत्रफलमा निर्माण गर्न लागिएको सो रंगशालाको डिजाइन दंगिशरण कन्सल्ट दाङ तुलसीपुर कीर्तिपुर काठमाडौंले तयार पारेको हो ।

प्रदेश सांसद केसीले प्रदेश सरकारले बहुवर्षीय योजनाका रूपमा नरैनापुर क्रिकेट रंगशालाको आयोजना अघि सारेको बताउँदै संघ तथा स्थानीय सरकारले पनि अपनत्व लिन आह्वानसमेत गरिन् । आधुनिक क्रिकेट मैदान, स्वीमिङ पुल, लङ टेनिस, बास्केट बल, भलिबल कोर्ट निर्माण गरिनुको साथै भीआईपी, भीभीआईपी र सर्वसाधारणका लागि प्याराफिटसहितको मैदान निर्माण गरिने योजना रहेको बताइन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्