आत्मरक्षाका लागि किशोरीलाई तालिम



चितवन । महिलालाई आत्मरक्षाका लागि तालिम अपरिहार्य रहेको किशोरीले बताएका छन् । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नारी सुरक्षा र सम्मानका लागि राष्ट्रव्यापी अभियानको रुपमा सञ्चालन गरेको मिसन साहसी तालीममा सहभागी किशोरीले यस्तो बताएका हुन् ।

बालकुमारी क्याम्पसमा अध्ययनरत सिर्जना पौडेल पछिल्लो समय समाजमा हुने गरेका महिला हिंसाका घटनालाई न्यूनीकरण गर्नका लागि पनि यस्ता तालीम आवश्यक रहेको बताउँछिन् । अहिले लिएको तालीमले आत्मविश्वास बढ्ने र शरीरको सुरक्षाका विषयमा ज्ञान दिएको पौडेलले बताइन् ।

भरतपुर महानगरपालिका–४ लङ्कु माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत ममता गौतम यो तालिमले कसैले आक्रमण गर्यो भने कसरी बाँच्ने भन्ने ज्ञान दिएको बताइन् ।  तालिम नलिँदा कसरी बाँच्न सकिन्छ भन्ने सोच आफूमा भए पनि अहिले सहजरुपमा त्यस्ता अपराधीबाट बाँच्न सक्ने हिम्मत बढेको उनको भनाइ छ ।

विद्यार्थी परिषद्ले सञ्चालन गरेको यस अभियानमा चितवनका सबै स्कूल र क्याम्पसमा अध्ययनरत छात्रालाई आत्मरक्षाको तालीम सञ्चालन गर्दै आएको छ । शुक्रबार भरतपुरको गेष्टहाउस चौरमा दिइएको तालीमको समापन गर्दै चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले महिलालाई दिइने यो तालिम उत्तम रहेको बताए ।  यस्ता तालीमले समाजमा हुने विकृति र विसङ्गतिको अन्त्य गर्दै आत्मसम्मान र आत्मरक्षाका लागि सहयोग पुग्ने उनको भनाइ थियो । रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्