सुचना प्रविधि

ट्वीटरमा आउँदैछ गज्जबको फिचर, अब आफूले गरेका ट्वीट ‘इडिट’ गर्न सकिने

By थाहा अनलाइन

February 05, 2019

ट्वीटेहरुका लागि ट्वीटर प्रयोग गरिरहँदा सधै खट्किरहने एउटा विषय हो आफूले गरेको ट्वीट सच्याउन नसकिनु । आफूले गरेको ट्वीटमा अक्षरहरु वा कुनै अन्य गल्ती फेला परेमा त्यसलाई सम्पादन गरेर सच्याउने विकल्प हुँदैन । कि त भएको गल्तीको प्रष्टीकरणमा अर्को ट्वीट गर्ने वा गल्ती भएको ट्वीटलाई डिलिट गर्ने ।

तर अबचाहिँ ट्वीटरमा पनि फेसबुकमा झैँ आफूले गरेको पोष्ट इडिट गर्ने फिचर आउने भएको छ । योसँगै अब ट्वीटर प्रयोगकर्ताले आफ्नो ट्वीटमा भएको गल्ती सुधार्ने मौका पाउनेछन् ।

ट्वीटरले यस्तो फिचर निकट भविष्यमै ल्याउनेछ । तर फेसबुकमा गरिने जस्तो इडिट ट्वीटरमा हुनेछैन । किनकि कुनै पनि ट्वीटलाई सम्पादन गरेर पब्लिस गरिसकेपछि पनि त्यो ट्वीटको ओरिजिनल भर्सनसमेत हेर्न सकिनेछ । अर्थात् खासमा सुरुमा उक्त ट्वीटमा के थियो र पछि के सम्पादन गरिएको हो ? भन्ने कुरा पनि थाहा पाउन सकिनेछ ।

नाइन टू फाइभ म्याक नामक वेबसाइटले ट्वीटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सीको अन्तरवार्ता उद्धृत गर्दै यस्तो दाबी गरेको छ । उसका अनुसार ट्वीटरले ट्वीट सेन्ड गर्दा ५ देखि ३० सेकेण्डसम्मको अवधि दिने फिचर ल्याउनेछ । सोही विन्डोमा प्रयोगकर्ताले उक्त ट्वीटलाई इडिट गर्न सक्नेछन् ।

ट्वीटरले अहिलेसम्म पनि ट्वीट इडिट गर्न सकिने फिचर किन नल्याएको भन्ने प्रश्नमा डोर्सीले भनेका छन्, ‘ट्वीटरको प्लाटफर्म टेक्स्ट मेसेजिंग एपको एसएमएस फम्र्याटमा बनेको छ । जब तपाईं टेक्स्ट मेसेज गर्नुहुन्छ, तब तपाईंले त्यसलाई फिर्ता लिने भन्ने कुरा हुँदैन । त्यसैगरी जब तपाईं ट्वीट गर्नुहुन्छ, तब यो तुरुन्तै दुनियामा फैलिन्छ । अनि तपाईंले त्यसलाई फिर्ता लिन सक्नुहुन्न ।’

ट्वीटर प्रयोगकर्ताको सुझावको आधारमा डोर्सीले ट्वीट संशोधन गर्ने फिचरका बारेमा पहिलोपटक सन् २०१६ मा चर्चा गरेका थिए । उनले ट्वीटरमा कुन चिजमा सुधार होस् वा के नयाँ कुरा थपियोस् भन्ने चाहनुहुन्छ ? भनेर प्रयोगकर्तालाई प्रश्न सोधेका थिए । त्यसको जवाफमा लाखौं ट्वीटर प्रयोगकर्ताले ट्वीट इडिट गर्ने फिचर थप गर्न आग्रह गरेका थिए ।

एजेन्सी