‘मेरो जित संगठन र तालमेल सहितको जित हो ’



 

देबेन्द्र बस्नेत 

दाङ ३१ , साउन
नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा नेपाल प्रेस युनियनको नेतृत्व विपुल पोख्रेलले गर्ने भएका छन् ।

प्रेस सेन्टर नेपालसँगको ‘तालमेल’बाट चुनावमा होमिने निर्णयमा पुगेको युनियनले दाङका पोख्रेलको नेतृत्वमा निर्वाचनमा सहभागिता जनाउने भएको हो । अध्यक्ष प्रेस सेन्टरलाई दिने गरी भएको सहमतिबमोजिम युनियनको नेतृत्व गर्दै पोख्रेल उपाध्यक्षमा भिड्ने भएका हुन् । सोमवार युनियनले पोख्रेलको नेतृत्वमा महासंघमा जाने औपचारिक निर्णय गरेसँगै पोख्रेलको चुनावी ‘रेस’ झनै बढेको छ । ‘जीत मेरा लागि मात्रै हैन, सिंगो संगठन र तालमेललाई समेत यो निर्वाचनमा जिताउने जिम्मेवारी मेरो हो’, पोख्रेल भन्छन्– ‘यही लक्ष्यका साथ म चुनावी दौडमा लागेको छु ।’

को हुन् युनियनको नेतृत्व गर्दै भिडेका पोख्रेल ? 

दाङको तत्कालीन घोराही नगरपालिका वडा नं= ५, हालको घोराही उपमहानगरपालिका–१८ का पोख्रेल प्रवीणता प्रमाणपत्र तहको अध्ययनका क्रममै पत्रकारितामा प्रवेश गरेका थिए । गणित विषय अध्ययनरत पोख्रेल साहित्यमा रुचि राख्थे । बुवा विनोद पोख्रेलले पञ्चायत कालमा ‘जयनेपाल’ नामक पत्रिका निकाल्दा नै पोख्रेलको बाल मस्तिष्कमा पछि पत्रकार बन्छु भन्ने अठोट पलाइसकेको थियो । २०४९ मा पोख्रेलको दाङबाटै पत्रकारिताको औपचारिक यात्रा प्रारम्भ भयो । सजिलो थिएन पत्रकारिता अनि सरल पनि थिएन प्रविधि । तैपनि बाल्यकालको अठोटले उनलाई पत्रकारितामा पुराइछाड्यो ।

यो बेला उनका समकक्षी थिए– सुदीप गौतम र किशोरचन्द्र गौतम । यी तीनजना एक अर्काका परिपूरकजस्तै थिए । पत्रकारितामा कुनै एकजनाको नाम लिँदा अन्य दुईजनाको नाम सँगै जोडिन्थ्यो । यो तीन जनाको समूह अहिले पनि प्रजातान्त्रिक बिचार बोकेका पत्रकार समूहको निर्णायक भूमिकामा छ । उनलाई पत्रकारितामा जिल्लाबाट सहयोग गरे अग्रजहरु नारायणप्रसाद शर्मा, रामप्रसाद पौडेल, सुशील गौतम, दधिराम सुवेदी, मुरारीकुमार शर्मा, केपी घिमीरेहरुले भने समकालीन पत्रकारिताका साथीहरु थिए, केएल पीडित, उदय जी।एम। र विमल अधिकारीहरु । ‘जीवन सिकाईबाट शुरु हुन्छ र सिकाईबाटै अन्त्य हुन्छ’ भन्ने मान्यता राख्ने पोख्रेलले आफ्नै टिममा रहेर काम गरेका अग्रज समकालीन र नयाँ पुस्ताबाट समेत पत्रकारिता सिकिरहेकोे बताउँछन् ।

‘दृष्टिकोण साप्ताहिक’बाट पत्रकारिता थालेका पोख्रेलको कौशलता यो क्षेत्रमा बढ्दै गयो । सरयु साप्ताहिक, घटना र विचार हुँदै हिमालय टाइम्सको दाङ जिल्ला संवाददाताका रुपमा पोख्रेलले काम गर्दा उनको पत्रकारिताको उचाई चुलिइसकेको थियो । जिल्ला संवाददाताको रुपमा रहेका पोख्रेल सम्पादकीय जिम्मेवारीमा पुगे । दाङबाटै प्रकाशन हुने राप्ती सन्देश अर्ध साप्ताहिकबाट सम्पादकीय जिम्मेवारी सम्हालेका पोख्रेल मध्य तथा सुदूर पश्चिममै पहिलो पटक खुलेको रेडियो स्वर्गद्वारी एफएमको सम्पादक बने । यसैगरी दाङबाटै प्रकाशन भएको गोरक्ष दैनिकको सम्पादकसमेत बनेर काम गरेका पोख्रेल सम्पादकीय भूमिकासँगै पत्रकारिताको राजनीतिमा समेत आफूलाई अब्बल सावित गर्दै लगे ।

नेपाल प्रेस युनियन दाङको संस्थापक सचिव पोख्रेल २०५३ मा नेपाल पत्रकार महासंघमा प्रवेश भए । पोख्रेल २०५६ देखि ०५८ सम्म नेपाल पत्रकार महासंघको उपाध्यक्षसँगै केन्द्रीय पार्षद् बने । यसैगरी ०६३ देखि ०६५ सम्म पोख्रेल सञ्चार क्षेत्रको निगरानी राख्ने निकाय प्रेस काउन्सिलमा काम गरे ।

पोख्रेल द्वन्द्वकालीन अवस्थामा राज्य तथा तत्कालीन बिद्रोही पक्षबाट असुरक्षित पत्रकारहरुलाई सुरक्षा प्रदान गर्न विभिन्न ‘मिशन’ को नेतृत्व गरेर फिल्डमा उत्रिएका ब्यक्ति समेत हुन् । दैलेखका पत्रकार डेकेन्द्र थापा अपहरण घटना छानविनका लागि पत्रकार महासंघको मिशन टोलीको नेतृत्व गरेर दैलेख पुगेका पोख्रेल त्यसपछि यस्ता १९ वटा मिशनमा सहभागी भए । दाङका पत्रकार केएल पीडितलाई तत्कालीन शाही सेनाले गिरफ्तार गरेका बेला ‘हरेक पत्रकारको जिम्मेवारी मेरो हो, यसले केही गरे मलाई गोली ठोक्नु’ भन्ने अभिभावकीय अभिव्यक्तिका साथ पत्रकारहरुको जीवन रक्षाका लागि लागिपरे । फलस्वरुप पत्रकारहरुको लागि उनी प्रियपात्र बने । आतंककारीलाई बचाएको अभियोेगमा सेनाबाट गोलीले उडाइदिने धम्की पाएका पोखे्रल आफ्नो कर्तव्यबाट विचलित भएनन् पत्रकारहरुको जीवनरक्षा आफ्नो पहिलो कर्तव्य ठानेर अघि बढिरहे ।

राजाले प्रत्यक्ष शासन सञ्चालन गर्दा उनी महासंघको केन्द्रीय समितिमा थिए । २०६१ माघ १९ मा उनले राजाको कदमविरुद्ध राजालाई नै सम्बोधन गरी विरोध पत्र लेखे र जिल्ला प्रशासन दाङमा दर्ता गराए । त्यसपछि उनी एक हप्ता भूमिगत बने । राजाको विरुद्ध प्रशासनमा विरोध पत्र दर्ता गराउने साहसको देशभर निकै चर्चा भयो । पत्रपत्रिका तथा रेडियोहरु बन्द भएको त्यस अवस्थामा उनले लोकतन्त्रको पक्षमा ‘जयनेपाल’ नामक भूमिगत पत्रिका निकाले । पहिलो अंकमा शुभकाना व्यक्त गर्दै गिरिजाप्रसाद कोइरालाले लेखेका थिए, ‘कठिन अवस्थामा लोकतन्त्रलाई बचाउन निकालिएको यो पत्रिका मेरो जीवनमा कहिल्यै नबिर्सने पत्रिका रहनेछ । जीवनभर मैले पढेका पत्रिकामा यो पत्रिका सदा मेरो स्मरणमा रहनेछ । लोकतन्त्रको पुनःप्राप्तिको लागि यो पत्रिकाको योगदान नेपालको इतिहासमा सुनौलो अक्षरमा लेखिने छ ।’ पत्रिका भूमिगतरुपमा निकाले पनि उनी आन्दोलनमा उपस्थित भए । पोख्रेल भन्छन्– ‘लोकतन्त्रमा मात्र प्रेस स्वतन्त्र रहन्छ तसर्थ निरंकुशताविरुद्ध उभिनु पत्रकारको पहिलो कर्तव्य हो । यो मान्यतालाई सबै पत्रकारहरुले आत्मसात गरे र सडकमा आए, यसले नै लोकतन्त्र ल्यायो ।’

पत्रकारिताका सन्दर्भमा थपिदै गरेका आयामहरुलाई व्यवस्थित गर्न सरकारी तह तथा नेपाल पत्रकार महासंघको तर्फबाट रणनीति तयार पार्न ५ वटा समितिमा रहेर नीति निर्माणमा समेत पोख्रेलले दक्षता देखाइसकेका छन् । यसैगरी उनले तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाका प्रेस सल्लाहकारको भूमिकामा काम गरेको अनुभव समेत संगालेका छन् ।

मोफसलबाट पत्रकारिताको यात्रा प्रारम्भ गरेका पोख्रेल अहिले पनि मोफसलमै रहेर गोरक्ष दैनिकको सम्पादकीय जिम्मेवारी बहन गरिरहेका छन् । ‘मोफसलका साना मिडियाहरु पत्रकारिताका ढुकढुकी हुन्, उनीहरुले नेपालि पत्रकारिताको मूल मर्मलाई जीवन्त राखेका छन् ।’ पोख्रेलको धारणा छ– ‘बदलिँदो परिस्थितिसँग प्रतिस्पर्धामा मोफसलका मिडियालाई कसरी खरो उतार्ने यो नै सबैभन्दा ठूलो चुनौती हो र यसैमा नै नेपालका हजारौ पत्रकारको भविष्य अडेको छ ।’ ‘आफ्नो क्षमता विकासका लागि अग्रसरता र जनउत्तरदायित्व वहनको भावना अहिलेको पत्रकारको आवश्यक योग्यता हो, यो योग्यता वहन गर्नसक्ने जो कोहिले पनि नेपाली पत्रकारितामा योगदान गर्न सक्छ’, पोख्रेलको मान्यता छ । हरेक पत्रकारमा यही योग्यता प्राप्त हुने वातावरण निर्माण गर्ने हाम्रो नेतृत्वको प्रमुख कार्य हो, योग्यता र उत्तरदायित्व वहन गर्दा कसैले पेशा वा भौतिक रुपमा असुरक्षाको अनुभूति ग(यो भने त्यो हाम्रो सबैभन्दा ठूलो असफलता हुनेछ भन्दै पोख्रेल भन्छन्– ‘एकजना पत्रकारले पनि असुरक्षित महसुस ग¥यो भने त्यो मेरो लागि सबैभन्दा पीडाको क्षण हुनेछ । ‘पदमा रहे पनि नरहे पनि मेरो पत्रकारको पेशागत तथा भौतिक असुरक्षाका विरुद्ध लडेको इतिहासलाई एकइन्च पनि कम हुन दिने छैन, जीवनभर यसैको विरुद्ध लडिरहने छु, समग्र पत्रकारिता क्षेत्रको बिकास, हाम्रो एकमात्रै लक्ष्य हो, पत्रकारले आफ्नो पेशागत तथा भौतिक सुरक्षाको पूर्ण प्रत्याभूत हुने गरी स्वतन्त्ररुपमा कसरी काम गर्न सक्छ रु भन्ने अबको हाम्रो एक मात्रै मिशन हो ।’

आफ्नोे साढे दुई दशकको यो यात्रामा पोख्रेलले थुप्रै पत्रकारहरु उब्जाए । यसर्थ उनी पछिल्लो पुस्ताका तमाम पत्रकारहरुको ‘गुरु’ हुन् । अहिले पनि मोफसलको कलेजमा पत्रकारिता अध्यापन गरिरहेका पोख्रेल जहिल्यै पत्रकारिता सही ‘मूल्य र मान्यतामा’ अडिग रहनुपर्छ भन्दै पत्रकारितालाई ‘जिम्मेवारी’ का रुपमा मात्रै अथ्र्याउँछन् । ‘यसलाई ‘फाइदा’को पेशाका रुपमा बुझ्नुभन्दा सूचना प्रवाह गर्ने जनउत्तरदायित्वका रुपमा मात्रै पत्रकारहरुले बुझ्नुपर्छ’, पोख्रेलको अपरिवर्तनीय सुझाव हो यो । तार्किक क्षमतामा अब्बल पोख्रेलले देशैभरका पत्रकारहरुसँगको सुमधुर ‘नेटवर्क’ कायम राखेका छन् । उनको यही सक्षमताले पनि उनी राष्ट्रियस्तरमै गनिने पत्रकारका रुपमा उभिन सफल भएका छन् । पोख्रेलले पत्रकारिता क्षेत्रमा आफूले गरेको मेहनत, त्याग र परिश्रमकै सुखद् परिणाम आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा देख्नेमा ढुक्क छन् । पोख्रेल भन्छन्– ‘पत्रकारिताका मूलभूत समस्यामा कोही पक्ष–विपक्षमा बाँडिन सक्दैन, तसर्थ मलाई श्रमजीविहरुको साथ हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहने छ भन्नेमा म दृढ छु ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्