बाढीपीडित बालबालिकालाई शैक्षिक सहयोग



दाङ । राप्ती समाज यूकेले सल्यानका बाढीपीडित बालिकालाई शैक्षिक सहयोग गरेको प्रदान छ । गत भदौ १२ गते बागचौर नगरपालिका–४ सल्यानमा गएको पहिरोमा परी बुबाआमा गुमाएका १३ वर्षिया कमला बिक, ११ वर्षिया पुतला विक र ८ वर्षिया सुनिता बिकको पठनपाठनका लागि समाजका आजीवन सदस्य नन्दबहादुर क्षेत्रीले सहयोग हस्तान्तरण गर्नुभएको हो ।  सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै समाजका सदस्य क्षेत्रीले समाजका सदस्यहरुबाट संकलन गरेको १ लाख ६५ हजार रकम राष्ट्रिय वाणिज्य बैंक तुलसीपुरमा मुद्दती खातामा जम्मा गरिदिएको बताउनुभयो ।

‘बाढी पहिरोबाट टुहुरो बनेका बालिकाहरुको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले राप्ती समाज यूकेका सदस्यहरुले संकलन गरेको रकममध्ये १ लाख ६५ हजार बैंकमा जम्मा गरिदिएका छौं र उहाँहरुलाई यातायात खर्चबाफत् नगद ५ हजार उपलब्ध गराएका छौं’, समाजका आजीवन सदस्य क्षेत्रीले भन्नुभयो, ‘हामीले गरेको सहयोग बालिकाहरुको शिक्षामा खर्च हुनेछ भन्ने बिश्वास लिएका छौं ।’ विगतका दिनदेखि नै राप्ती समाज यूकेले विपत्तीमा परेका   राप्तीबासीहरुका लागि सहयोग प्रदान गर्दै आएको भन्दै सदस्य क्षेत्रीले प्रवासमा बसेर आर्जन गरेको केही रकमबाट आफ्नो क्षेत्रका जनताहरुको दुःखमा मल्हम लगाउने गरेको बताउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै बालिकाका मामा कृष्ण रासाइलीले टुहुरा बालिकाको शिक्षाका लागि सहयोग गरेकोमा राप्ती समाज यूकेलाई धन्यवाद दिनुभएको छ । आर्थिक अभावका कारण श्री सिद्धार्थ आधारभूत विद्यालय काफल डाँडाको कक्षा ८ मा अध्ययनरत कमला बिक र श्री भगवती आधारभूत विद्यालय बागचोरको कक्षा ४ मा अध्ययनरत पुतला बिकको पठनपाठन रोकिने अवस्थामा पुगेको भन्दै मामा कृष्णले समाजले गरेको सहयोगको पूर्णरुपमा सदुपयोग गर्ने बताउनुभयो ।

कान्छी भाञ्जी सुनिता बिकको पालनपोषणको जिम्मा कोपिला भ्यालि अनाथ आश्रम सुर्खेतले जिम्मा लिएको भन्दै कृष्णले २ भाञ्जीको बिचल्ली भएको बताउनुभयो । ‘घर पहिरोले बगाएका कारण कहिले बाजेको घरमा कहिले दिदीको घरमा २ भाञ्जीहरु बस्दै आएका छन् । उनीहरुको घर बनाउन सहयोग प्राप्त भए राम्रो हुने थियो’, मामा कृष्णले भन्नुभयो, ‘यही कार्यक्रममार्फत् म सहयोगका लागि सम्पूर्णलाई अनुरोध गर्दछु ।’ अविरल वर्षापछि गत भदौ १२ गते बागचौर नगरपालिका––४ सल्यानमा पहिरोले घर बगाउँदा ४० वर्षिय रामसिंह बिक उहाँकी ३५ वर्षिया श्रीमती रामकला बिकसहित ७ वर्षिया छोरी गंगा, ६ वर्षिया प्रमिला र ४ वर्षिय छोरा रुपलालको मृत्यु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्