काठमाडौं । संगीतकार बसन्त थापाले लोकदोहोरी प्रतिष्ठानबाट अलग भएको घोषणा गरेका छन् । नेपाल आइडल रवि ओडले आफ्नो गीत खराब तरिकाले गाएको विषयमा मौन बसेकोमा असन्तुष्टि जनाउँदै उनले लोक दोहोरी प्रतिष्ठानबाटै अलग भएको घोषणा गरेका हुन् । सामाजिक सञ्जाल मार्फत आफूले प्रतिष्ठान छाडेको घोषणा गरेकी फेसबुकमा उनले लेखेका छन्, ‘लोकगीतको सर्जकलाई पलपल आक्रमण भइरहँदा मौलिकतामाथि प्रहार भइरहँदा प्रतिष्ठामाथि गाली बर्सिरहँदा पनि टुलुटुलु हेरिरहनेहरु म मर्दा मलामी जान्छन् भन्ने कुरामा विश्वास गर्न सकिनँ । त्यसैले आजका मितिले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा आफू नरहेको जानकारी गराउन चाहन्छु ।’
अष्ट्रेलियामा आयोजित कन्सर्टमा रवि ओडले बसन्तद्वारा संगीतबद्ध चर्चित लोकदोहोरी ‘सालको पात‘’ गाएका थिए । तर, उनले गीतको लिरिक्स बिगारेका थिए । अनुमति नलिएको र तोडमोड भएको भन्दै बसन्तले असन्तुष्टि जनाए । तर, रविका फ्यानहरुले उनलाई गालीगलौज गरे ।
तर, थापाले रवि ओडप्रति सहानुभूति राखेका छन् । उनले भनेका छन्, ‘यस्तो सिर्जना गर्न मन छ, जसमा आवाज रवि ओडको होस र माया करोडको होस् । गाली गर्नेहरुलाई बारबार पश्चाताप होस् ।’
यता रविले भने फेसबुकमा प्रष्टीकरण दिँदै तयारीबिना दर्शकको मागअनुसार गीत गाउँदा त्रुटि हुन पुगेको प्रतिक्रिया दिएका छन् । रविले बसन्तसित कुरा गर्दै माफी पनि मागेका छन् ।
बसन्तले भने रविसँग व्यक्तिगत बैमनश्यता नभएको तर, व्यवसायिक प्रयोजनका लागि अनुमति विना अरुको गीत गाउन नहुनेमा जोड दिँदै आएका छन् ।तर, यो प्रकरणमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मौन बसेकोमा बसन्त असन्तुष्ट छन् । लोकदोहोरी प्रतिष्ठानका उपाध्यक्ष पशुपति शर्माले भने बसन्तले उठाएको विषय जायज भएको धारणा सार्वजनिक गरेका छन् । प्रतिष्ठानको आउँदो फागुन १ गते बैठकमा यसबारे कुराकानी हुन सक्ने भन्दै उनले फेसबुकमा आएको गालीबाट विचलित नहुन आग्रह गरे ।
संगीतकार वसन्तलाई सुझाव दिँदै पशुपति शर्माले यसो भनेका छन् :
‘म पनि पहिले यस्तै खाले तनावमा फसेको थिएँ । मेरो एउटा लोकदोहोरीले दलितहरुको अपमान गरेको भनेर विवाद उब्जिएको थियो । त्यसमा मलाई पनि धेरै गालीगलौज आए । धम्की आए । त्यतिबेला मेरो मनमा पनि नकारात्मक भावहरु नआएका होइनन् । यस्तो अवस्थामा आफूलाई झन् बलियो बनाउनुपर्ने रहेछ । मैले आफूलाई बलियो बनाएँ । त्यतिबेला म लोकदोहोरी प्रतिष्ठानको सचिव थिए । प्रतिष्ठानले त्यो इस्यूमा केही बोलेन र मैले बोल्नुपर्छ भन्ने माग पनि गरिनँ । बरु आफैंले व्यक्तिगतरुपमा एउटा प्रेस विज्ञप्ति जारी गरेँ ।
अहिले बसन्त भाइको विवादलाई पनि नजिकबाट नियालिरहेको छु । उनले उठाएको कुरा गलत होइन । हरेक सर्जकलाई आफ्नो सिर्जनाको माया हुन्छ । आफ्नो गीतलाई स्टेजमा कसैले तोडमोड गरेर गाउँदा चित्त दुख्नु स्वभाविकै हो । त्यसमाथि अरुको गीत गाउँदा सम्वन्धित स्रष्टासँग अनुमति पनि लिनुपर्ने हुन्छ । गाउनु अगाडि उनीहरुको नाम लिनुपर्छ । त्यो गरेको देखिएन ।
यो विवादमा लोकदोहोरी प्रतिष्ठानको धारणा म अहिले बताउन सक्दिनँ । किनकी प्रतिष्ठानको वैठक बसेर छलफल गर्नुपर्ने हुन्छ । बसन्त भाइले प्रतिष्ठानबाट अलग हुने कुरा गर्नुभएको छ । उहाँले यस विषयमा कुनै लिखित वा मौखिक ढंगले प्रतिष्ठानमा कुरा राख्नु भएको थियो कि थिएन थाहा भएन । उहाँले संस्थागत ढंगले जानुपर्छ । अर्को कुरा नकारात्मक कमेन्टहरु आए भनेर विचलित नहुन उहाँलाई सुझाव दिन्छु । बरु कमेन्टहरु पढ्दै नपढे हुन्छ । सामाजिक सञ्जाल भनेको त्यस्तै रहेछ । म आफू विवादमा परेदेखि सामाजिक सञ्जालमा सक्रिय हुनै छोडिदिएँ । यसो गीतहरु सेयर गर्छु । अरु केही लेख्दिनँ ।
प्रतिष्ठानको फागुन १ गते वैठक बस्दैछ । सम्भवत त्यस वैठकमा यो विवादबारे छलफल भएर कुनै निष्कर्षमा पुग्न सकिन्छ । तर, मुलभुत कुरा भनेको स्रष्टाको सृजना संरक्षण कसरी गर्ने भन्ने नै हो । किनकी स्टेजमा अरुका गीत गाइदिन सजिलो हुन्छ, तर, ती गीत सिर्जनामा कति मेहनत, दुख परेको हुन्छ त्यो स्रष्टालाई मात्र थाहा हुन्छ ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।