मनोरञ्जन

अमेरिकामा नेपाली आदिवासी चलचित्र महोत्सव हुने

By थाहा अनलाइन

August 16, 2017

सैघाली खबर, काठमाडौं, ३२ साउन। – अमेरिकामा पहिलोपटक आदिवासी चलचित्र महोत्सव २०१७ हुने भएको छ । नेपालका आदिवासी जनजातिको भाषा, कला, संस्कृति, परम्परा र भेषभुषालाई अन्तर्राष्ट्रियकरण गर्नका लागि २३ औं विश्व आदिवासी दिवसको अवसरमा न्युयोर्कमा पहिलो पटक महोत्सवको गर्न लागिएको महोत्सवकी सञ्चार संयोजक मच्छे गुरुङले जानकारी दिनुभएको छ ।

जनजातिको भाषा, कला, संस्कृति, परम्परा र सामाजिक रुपान्तरणको विषयलाई समेटेर निर्माण गरिएकोे चलचित्र, कलाकार, प्राविधिकलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्दन र प्रोत्साहन गर्ने उदेश्यले महोत्सव आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । नेपाल आदिवासी जनजाति महासंघ फिप्ना अमेरिकाको आयोजनामा हुने महोत्सव, आदिवासी जनजातिको हक, अधिकारलाई सुनिश्चित गराउन र पहिचानको मुद्दालाई स्थापित गराउन सहयोग पुग्ने फिप्नाका अध्यक्ष लुइसाङ वाइवाले बताउनुभयो ।

मूलधारको चलचित्रबाट ओझेलमा परेका आदिवासी जनजातिका कथावस्तुमा आधारित चलचित्रहरुको प्रवर्द्धन गर्ने उदेश्यले आदिवासी चलचित्र महोत्सव आयोजना गरिएको उहाँको भनाई छ ।

महोत्सव भदौ ९ गतेदेखि तीन दिन ढाका क्लवमा चल्ने महोत्सवमा चलचित्र र लघु चलचित्र गरि एघार चलचित्र प्रदर्शन गरिनेछ । गुरुङ भाषाको ‘मैंरिमो, तामाङ भाषाको ‘सेम ताबा म्ही, लिम्बु भाषाको ‘हेलुक्वा, मगर भाषाको ‘लोम्बा, नेवारी भाषाको ‘कृषा गौतमी’ प्रदर्शन गरिने छ । त्यसैगरी, राई भाषाको ‘सुम्निमा र मुस्ताङी चलचित्र ‘शेरढाक’ लाई महोत्सवमा स्थान दिइएको छ । यसैगरी लघु चलचित्रमा नेपाल भाषाको ‘कल्ली’ र थारुको ‘लाज’ माझीको ‘बन्ठी’ र मुगालको ‘फेके’ को प्रदर्शन गरिने मिडिया संयोजक गुरुङले बताउनुभयो ।

महोत्सवमा सन् २०१७ मा आयोजित आदिवासी जनजाति चलचित्र महोत्सवमा पब्लिक चोईस अवार्ड जितेको गुरुङ भाषाको ‘कर्म क्या’ र सन २०१५ मा उत्कृष्ट आदिवासी राष्ट्रिय पुरस्कार जितेको राई भाषाको ‘मतान’ विशेष प्रर्दशन गरिने आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न ११ विधामा उत्कृष्ट हुनेलाई नगद पुरुस्कार र सम्मानस्वरुप प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट चलचित्रलाई एक लाख नगद, ट्रफी सहित प्रमाणपत्र दिइने आयोजकले जनाएको छ ।