ओली–प्रचण्डबीच कुरा मिल्यो, प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो आएको देवेन्द्र पौडेलको खुलासा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भेनेजुयलामा जारी राजनीतिक संकटलाई लिएर सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक रहेको स्पष्ट पारेका छन्। उनले भने,‘यो विषयमा पार्टीको सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक हो । यसमा अब अल्झिनुपर्दैन ।’

आइतबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता पौडेलले यो विषयमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञप्ती जारी गरेर भयानक गल्ती नगरेको पनि स्पष्ट पारे ।
उनले भने,‘नेपालस्थित अमेरिकी राजदूत र हाम्रो पार्टीका अध्यक्ष प्रचण्डबीच हिजो एक्लाएक्लै भेटवार्ता भैसकेको छ। राजदुतसँगको भेटमा हाम्रो अध्यक्षज्यूले वक्तव्य यो ‘स्पिरिट’मा आएको हो भनेर भनिसक्नुभएको छ । अब यो समस्या हल भयो ।’

पौडेलले अमेरिकी राजदूतले प्रचण्डलाई अमेरिका भ्रमणको निम्तोसमेत दिइसहेको बताए । उनले भने,‘सबै कुरा मिलिसक्यो । सहमति भैसक्यो । अब यसलाई अनावश्यक रुपमा उचाल्नुहुँदैन् ।’

पौडेलले हिजोमात्रै नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच तीन घण्टा लामो भेटवार्ता भएको जनाए । उनले भने,‘उहाँहरुबीच तीन घण्टा कुराकानी भयो । मिलेर जाने सहमति भएको छ। अहिले देखिएका सबै समस्या हल गरेर जाने सहमति भएको छ ।’ प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच आगामी दिनमा मिलेर जानेबारे गम्भिर कुराकानी भएको पनि पौडेलले जनाए । फरक प्रसँगमा उनले पूर्व प्रधानमन्त्री, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीले वक्तव्य जारी गर्दा शब्दहरु ख्याल गर्नुपर्नेमा जोड दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्