बाढी पहिरोबारे संसदमा छलफल जारी



सैघाली खबर,
काठमाडौं, ३२ साउन । – व्यवस्थापिका संसदमा बुधबार पनि जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथिको छलफल जारी छ । बाढी पहिरो प्रभावितको राहत तथा उद्धारलाई प्रभावकारी बनाउन माग गर्दै एमाले सांसद भीम रावलले पेश गरेको प्रस्तावमाथि मंगलबारदेखि छलफल सुरु भएको थियो ।
संसद सचिवालका अनुसार अहिलेसम्म २४ जना भन्दा धेरै सांसदले छलफलमा भाग लिएका छन् । तराई क्षेत्रमा डुबानका कारण प्रभावित नागरिकलाई छिटो राहत पुर्‍याउन माग गरेका छन् ।

त्यस्तै तराईमा भारतीय बाँधका कारण डुबान भएको भन्दै त्यसलाई कुटनीतिक तवरबाट सच्याउन सुझाव दिएका छन् ।
छलफलमा भाग लिँदै कांग्रेसकी सचेतक ईश्वरी न्यौपानेले कैलाली जिल्लाका अधिकांश भू–भाग अहिले डुबानमा परेको उल्लेख गर्दै राहत, उद्धार र पुनस्र्थापना गर्न सरकारको ध्यानकार्षण गराउनुभयो ।

छलफलमा एमालका सांसद रामकुमार भट्टराईले रौतहतका ९० प्रतिशत घर डुबानमा परेको जानकारी दिंदै डुवानकै कारण अब सो क्षेत्रका ५० प्रतिशत अन्नबाली पनि नष्ट हुने भएकाले सरकारलाई विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
त्यस्तै माओवादी केन्द्रका सांसद अग्नीप्रसाद सापकोटाले विगतमा महाभूकम्प गए पश्चात् जसरी राजनीतिक दल एकताबद्ध भएर महाविपत्तीको सामना गर्न एक भए जस्तै अहिले पनि एकताबद्ध हुन दलहरुदलाई सुझाव दिनुभयो ।

सांसद सापकोटाले जताततैबाट बाढी पीडितहरु लागि भन्दै थुप्रै पैसा आएको सुनिए तापनि सरकारले भनेजस्तो जनताले राहत र उद्धार नपाएको जनगुनासो आएको उल्लेख गर्नुभयो । जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदहरु प्रेमकिशोर प्रसाद साह तेली, वंशीधर मिश्र, भिष्मराज आङ्दम्वे, नारायण कार्की, मोहन टुडु, चन्द्रकान्त भण्डारी, आनन्द प्रसाद पोखरेल, रुक्मिणी चौधरी, राजाराम स्याङ्ताङ, ईन्द्रबहादुर बानियाँ, वाङ्दी शेर्पा, रामणी राम, श्यामप्रसाद ढकाल, अफिलाल ओखेडा, लोकमणि ढकाल, प्रेम सुवाल लगायतले छलफलमा भाग लिनुभएको छ ।छलफलका क्रममा उठेका प्रश्नको जवाफ सरकारले दिएपछि प्रस्तावमाथिको छलफल सकिनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्