अपराध

लिभिङ टुगेदरमा रहेकी युवतीको प्रेमीबाट हत्या

By थाहा अनलाइन

February 12, 2019

२९ माघ, काठमाडौं ।इटहरी उपमहानगरपालिका–४ माङहिङमा आफ्नै प्रेमी ले प्रेमिका को हत्या गरेका छन्। सोलुखुम्बुका लालबहादुर राईले आफूसंगै डेरामा बस्दै आएकी खोटाङकी ३५ बर्षिया प्रेमिका सोनिया राइको हत्या गरेका हुन् । ९ महिनादेखि उनीहरु लिभिङ टुगेदरमा बस्दै आएका थिए ।

सोनियाको सोमबार साँझ ६ बजे हत्या भएको हो । प्रहरीले ३६ वर्षका लालबहादुरलाई पक्राउ गरेको छ । लालबहादुरले सोनियाको हत्या गरेको स्वीकार गरिसकेको इलाका प्रहरी कार्यालय इटहरीका इन्चार्ज डीएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए । विवाहित सोनियासँग लालबहादुर विदेशमा हुँदादेखि नै प्रेममा थिए । डीएसपी श्रेष्ठका अनुसार लालबहादुर विदेशबाट फर्केपछि सोनियासँग इटहरीमा लिभिङ टुगेदरमा बस्न थालेका थिए । सोनियाका श्रीमान वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका छन् ।

लालबहादुर विदेश हुँदा सोनियालाई रकम समेत पठाइदिने गरेका थिए । उनी स्वदेश फर्किएपछि एउटै डेरामा बस्दै आएका थिए । उनीहरुबीच लेनदेनको बेला बेलामा विवाद हुने गरेको प्रहरीको भनाइ छ ।

सोही विवादका क्रममा सोमबार मदिरा सेवन गरेका लालबहादुरले सोनियाको डेरामै छुराले हानेर हत्या गरेको डीएसपी श्रेष्ठले बताए । ‘लालबहादुर विदेशबाट आएर इटहरीमा बसेको हो । केही रकम सोनियालाई दिएको रहेछ’ उनले भने ‘हिजोको घटना मदिराकै कारण भएको देखिन्छ ।’