मुख्य समाचार

कोठा भाडा तिर्न नसकेपछि दुई नाति च्यापेर शौचालयको बास

By थाहा अनलाइन

February 13, 2019

बेनी १ फागुन , कोठा भाडा तिर्ने पैसा नभएपछि बेनपा २ ज्यामरुककोटकी ७५ वर्षीया जमुना सुनार दुई नावालक नातीलाई च्यापेर अहिले बगरफाँटको सरस्वति आधारभुत विद्यालयको शौचालयमा बस्दै आएकि छिन । बुवा र आमालेनै दोस्रो बिवाह गरेर वेपत्ता भएपछि अलपत्र बनेका ९ वर्षीय एनोस र ७ वर्षीय सिमसन २ वर्षदेखि हजुरआमा जमुनासँग बस्दै आएका छन् ।

सुत्ने कोठाको छानो प्वाल परेर पानी चुहिन्छ । भुईमा एउटै विस्तारा छ । दायाँ र बायाँ दुई नावालक नातीलाई च्यापेर ७५ वर्षीया जमुना सुनारलाई हिउँदको चिसोमा रात कटाउन मुस्किल छ ।

विद्यालयमा भएका दुई वटा मध्य एउटा प्रयोग बिहीन शौचालयमा सुनारका परिवार बस्ने गरेका छन्। ७५ बर्षिया सुनार भन्छिन ूनजिकै अर्को चर्पीबाट पनि दुर्गन्ध आउँछ । ‘बिहान बेलुकी विद्यालयको रेखदेख गर्छु, खाली चर्पीको कोठामा बस्छु भनेर अनुरोध गरेपछि दुख देखेर प्रयोग नभएको शौचालयमा बस्न दिएको,’ व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्कीले बताएका छन् । गत मंसिर देखि उनीहरु शौचालयमा बस्न थालेका हुन् ।

‘बुढेशकालले च्यापेपछि ज्याला मजदुरीको काम गर्न छाडे,’ जमुनाले दुख सुनाईन ‘बृद्धाभत्ता बाहेक अरु आम्दानीको स्रोत नभएपछि भाडा तिर्न नसकेर यहाँ बस्न थालेकी हुँ ।’ तीन कोठे शौचालयको एउटा कोठामा सुत्ने बज्यै नातीहरुले अर्को कोठालाई भान्छा कोठा बनाएका छन् । भान्छा र सुत्ने कोठाको बिचमा रहेको चर्पी भने प्रयोगमा छ ।

 

‘बुहारी बिदेश गएको बेला छोरा राजु सुनारले अर्को बिवाह गर्यो , बुहारीले पनि दुई जना नातीलाई छाडेर दोस्रो बिवाह गरिन्’, जमुनाले भनिन‘बाख्रा पाठा भए बेच्ने थिए, मार्न भएन्, भोकमा खान दिएर स्कुल पठाएकी छु ।’ सोही विद्यालयमा एनोस कक्षा २ र सिमसन बाल कक्षामा पढिरहेका छन् । दोस्रो बिवाह गरेर वेपत्ता भएका राजु तीन वर्षअघि बुवा बित्दा पनि घर आएका थिएनन् । सुकुम्बासी सुनारका चार भाई मध्य भारत गएका माइला र साइला छोरा पनि वेपत्ता छन् । घर मै भएका जेठा छोरा ज्याला मजदुरी गरेर जिविका चलाउने गरिरहेका छन।

अन्नपात मागेर नातीहरु र आफ्नो भोक मेट्ने गरेको जमुनाले बताईन। सरकारले दिने सामाजिक सुरक्षा भत्ताबाट नातीहरुको पढाई, नुन, तेल गर्ने खर्च जुटाउने जोहो गरिरहेको समेत उनले बताइन । उनिहरुलाई गत हप्ता बेनीको दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाले सातौ वार्षिकोत्सवको अवसरमा मुठ्ठीदान अभियान अन्तरगत खाद्यान्न सहयोग गरेको थियो ।

दश पाथी चामल, पाँच लिटर तेल, पाँच केजी नुन, पाँच केजी दाल, पाँच केजी चिनी, २०० ग्राम चियापत्ती, एक प्याक चाउचाउ, २ दर्जन कापीकलम, एक दर्जन साबुन र पाँच हजार ५५५ रुपैयाँ नगद सहयोग गरेको संस्था की अध्यक्ष ज्योति लामिछानेले बताईन।७५ बर्षिया ज्योतिलेले आफुहरुले गरिरहेको यो दुखमा सहयोगी मनहरुले सहयोग गरे शौचालय बास भन्दा बाहिर कतै टहरा समेत बनाएर बस्ने अपेक्षा समेत राखिन ।