अचम्मका कुरा

बगैंचाबाट १ करोड मूल्यका रुख चोरी

By थाहा अनलाइन

February 13, 2019

टोकियो। जापानमा एक अचम्मको चोरीको घटना बाहिर आएको छ। जापानको साइतामा भन्ने ठाँउमा बस्ने जोडी सेजी लिमुरा र उनकी पत्नी फुयुमी बगैंचाबाट सातओटा बोनसाईका रुखहरु चोरी भएका छन्। चोरी भएका ती रुखको मूल्य करिब एक लाख डलर अर्थात एक करोड नेपाली रुपैंया भन्दा बढी रहेको बताइएको छ।

ती जोडीले १३ जनवरीमा फेसबुकमा एक पोष्ट लेखेका छन्। जसमा उनीहरुले आफ्नो बगैंचामा रहेका करिब ३००० हजार बोनसाईका रुखहरु मध्ये चोरले सबैभन्दा महंगा सातओटा रुखहरु चोरेर लगेको उनीहरुले बताएका छन्। ती सात मध्ये एक रुख करिब ४०० वर्ष पुरानो रहेको र त्यसको मूल्य करिब ९० लाख रुपैंया पर्ने ती जोडीले बताएका छन्। यसका साथै उनीहरुले त्यो रुखलाई कसैले देखेमा आफूहरुलाई सम्पर्क गर्न पनि भनेका छन्।

 

ती जोडीका अनुसार त्यो ४०० वर्ष पुरानो रुखलाई एक हप्ता पानी नहालेमा मर्नेछ। त्यसैले उनीहरुले फेसबुकमा पोष्ट लेखेर चोरलाई त्यो रुखको हेरचाह गर्न अनुरोध गरेका छन्। उनीहरुले बोनसाईको रुखको लगातार चोरी बढिरहेको पनि बताएका छन्। यो रुख जापान बाहिर एकदमै महंगो मूल्यमा बिक्ने गर्छ।