‘कन्फ्युजन र भ्रम’ छाडेर गोलबद्ध हुन आबश्यक-प्रचण्ड

By थाहा अनलाइन

February 13, 2019

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवसको अवसरमा बुधबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै नेकपाको एकतालाई अझ सुदृढ बनाउने बताए ।उनले विगत तीन दशकको अवधिमा नेपालमा दुई कम्युनिष्ट धाराको जन्म भएको भन्दै एकले शान्तिपूर्ण संसदीय अभ्यास र अर्कोले जनयुद्धका रुपमा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन प्रयोग भएको स्मरण गरे । अहिले दुबै मिलेर मदन भण्डारी स्मृति दिवसमा पार्टी एकता गर्नु र विद्रोह थालेको दिन देशभर मनाउनु दुई ऐतिहासिक परिघटना भएको उनको दाबी छ ।

प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओली सरकारको एक वर्ष पुगेको अवसरमा नगरी नहुने कामको चापले मात्र कार्यक्रममा आउन नसकेको उनले बताए । दुबैको समझदारीबाट देशभर कार्यक्रम तय गरिएको भन्दै नेकपाका अध्यक्ष प्रचण्डले भने, ‘यसअर्थमा हामीभित्र नयाँ एकताको आधार बनाएको छ ।’

पार्टी एकता ढिलो भएकोमा के होला भन्ने चिन्ता भइरहेका बेला भएको यो कार्यक्रमले केही दिनभित्र पार्टी एकता टुंग्याउने प्रेरणा दिएको समेत उनले बताए ।

उनले नेपालका कम्युनिस्टहरुले संसारलाई नै आश्चर्य पार्ने काम गरिरहेको बताए । सहिद तथा सहिद परिवारप्रति सम्मान प्रकट गर्दै नेपालमा युगान्तकारी राजनीतिक परिवर्तनलाई संस्थागत गरेर र राजनीतिक धु्रवीकरणलाई पनि नयाँ तरङ्गमा पुर्याएर पार्टी एकभएपछि पहिलो पटक भएको कार्यक्रम आफैँमा अर्थपूर्ण भएको बताए ।

नेकपा अध्यक्ष प्रचण्डले ‘कन्फ्युजन र भ्रम’ छाडेर गोलबद्ध हुन सबै कम्युनिस्ट घटकहरुलाई आहृवान गरेका छन् । साथै प्रमुख विपक्षी कांग्रेसलाई विकास र समृद्धिको यात्रामा एक भएर अगाडि बढ्न आहृवान गरेका छन् ।