मुख्य समाचार

तीजको अवसरमा युएईमा निःशुल्क स्वास्थ्य परीक्षण गरीने

By थाहा अनलाइन

August 17, 2017

सैघाली खबर, भदौ १ ।– तीजको अवसरमा यहाँ कार्यरत नेपालीको निःशुल्क स्वास्थ्य परीक्षण हुने भएको छ । युनिभर्सल अस्पताल आवुधाबीले नेपाली कामदारका लागि भदौ ५ देखि ३० गतेसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो । शिविर युएईका विभिन्न शहरमा सञ्चालन गर्न लागिएको अस्पतालले जनाएको छ ।

अबुधावीसहित दुवई, सारजाह, अलऐन, अली हायर, अल हिली, अल याहेर, बनियास र मुसाफामा रहेका अस्पतालका शाखामा शिविर सञ्चालन गरिने भएको हो । शिविरमा नाक, कान, घाँटी, आँखा, रगत, पिसाव, उच्च रक्तचाप, युरिक एसिड तथा सुगर र मानसिक समस्या भएका बिरामीको स्वास्थ्य परीक्षण गरिने अस्पतालका नेपाली संयोजक शंकर बिसुङ्खेले जानकारी दिनुभयो । अस्पतालले गएको वर्ष अलऐनमा मितेरी समाज र दुवईमा अर्घाखाँची सम्पर्क समितिसँग मिलेर स्वास्थ्य शिविर चलाएको थियो । शिविरमा एक हजार नेपाली कामदारले स्वास्थ्य परीक्षण गराएका थिए ।

नेपाली कामदारमा विभिन्न स्वास्थ्य समस्या देखिएको र समयमै उपचार पाउन भनेर शिविर सञ्चालन गर्न लागिएको अस्पतालका प्रबन्ध निर्देशक डा। सहवीर नेल्लिक्डेले बताउनुभयो ।