अपराध

प्रहरी हवल्दार माथि महिला बलात्कारको आरोप

By थाहा अनलाइन

February 15, 2019

दाङ- प्रहरीले नै एक महिलालाई बलात्कार गरेको आरोप लागेको छ। इलाका प्रहरी कार्यालय फुलबारी दाङमा कार्यरत प्रहरी हवल्दारले गएराति स्थानीय महिलालाई बलात्कार गरेका हुन्।

उनीमाथि प्रहरी कार्यालयमा पीडितले जाहेरी दिएकी छन्। बलात्कार गरेको अभियोग लागेका हवल्दारलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरी निरीक्षक भीम कार्किले जानकारी दिए।

गएराति आफू प्रहरी भएको बताउँदै घरको ढोका खोल्न लगाएर मुख थुनेर बलात्कार गरेको पीडितपक्षले आरोप लगाएका छन्। घटना अनुसन्धानको क्रममा भएकाले दुवै पक्षको नाम गोप्य राखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

पीडितको स्वास्थ्य जाँचका लागि पठाइएको र प्रमाणित भए कानुन बमोजिम कारबाही हुने जिल्ला प्रहरी प्रमुख एसपी बेलवहादुर पाण्डेले बताए।