सुचना प्रविधि

फेसबुकले मात्रै नेपालबाट १२ अर्ब ७५ करोड लैजाने गरेको खुलाशा

By थाहा अनलाइन

February 16, 2019

सामाजिक सञ्जालले समाजमा सकारात्मकभन्दा नकारात्मक विषयलाई बढवा दिएको पाइएपछि सरकारले त्यसलाई विधिमा ल्याउने प्रयास थालेको छ । सङ्घीय संसद्मा दर्ता भएको ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ विधेयकमा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्तिले सूचना प्रविधि विभागमा दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।

ऐन प्रारम्भ हुनुअघि सञ्चालनमा रहेका सामाजिक सञ्जाल तोकिएको समयभित्र विभागमा दर्ता हुनुपर्नेछ भने नेपालमा दर्ता नभएका व्यक्तिले सञ्चालन गरेको सामाजिक सञ्जालको प्रयोगमा सरकारले रोक लगाउन सक्ने व्यवस्था गरिएको छ ।

नयाँ कानून कार्यान्वयनमा आएपछि हाल सञ्चालनमा रहेका फेसबुक, म्यासेन्जर, ह्वाटएपस्, ट्वीटर, लिङ्क्डइन, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालसमेत नेपालमा दर्ता गर्नुपर्नेछ । कानूनअनुसार दर्ता भएपछि मात्रै ती सामाजिक सञ्जाल नेपालभित्र सञ्चालनमा ल्याउन पाइनेछ ।

कानूनी रुपमा दर्ता नहुँदा नेपालबाट के कति मात्रामा रकम विदेशिने गरेको छ भन्ने कुराको कुनै जानकारी प्राप्त हुने गरेको छैन । विज्ञापन तथा व्यवसाय प्रवद्र्धन तथा अन्य आर्थिक कारोवारसँग जोडिएका विषय धेरै भए पनि नेपालमा आधिकारिक रुपमा सामाजिक सञ्जाल दर्ता नभएका कारण उनीहरुले नेपालबाट लैजाने रकमको परिणाम थाहा हुन नसकेको हो । अनौपचारिक तथाङ्कअनुसार फेसबुकले मात्रै नेपालबाट रु १२ अर्ब ७५ करोड बराबरको रकम लैजाने गरेको छ । रासस